नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ मंसिर ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । मन्त्रिपरिषद्को नियमित बैठकअघि बिहान ११ बजे शीतलनिवास पुगेर प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका हुन् । नेकपाभित्रबाट चौतर्फी घेराबन्दीमा परेको बेलामा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यद्यपि उनको सचिवालयले यो भेटवार्तालाई नियमित भनेको छ । प्रधानमन्त्रीले आजै अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक पनि डाकेका छन् ।
बुधबार बोलाईएको सचिवालय बैठकमा ओली उपस्थित नभएपछि मंसिर २० गतेसम्मलाई बैठक स्थगित गरिएको छ । कार्याकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिस्ट नेता माधव नेपाल समूहले ओलीले एक पदबाट राजीनामा दिनुपर्ने अडान राखेका छन् । साथै बैठकबाट भगिरहेका ओलीले राष्ट्रपतिलाई भेटेपछि कतै उनले अध्यादेश ल्याएर पार्टी फुटाउने योजनामात छैनन् भनेर प्रचण्ड नेपाल समूहले शंका गरिरहेको छ ।
