हुम्लाको सिमकोटमा जिप दुर्घटना : चार जनाको मृत्यु, सातजना घाइते

हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयाको जबुका नजिकै जिप दुर्घटना हुँदा चारजनाको मृत्यु र सातजना घाइते भएका छन् । शुक्रबार राति लु २ च २१०२ नम्बरको जिप दुर्घटना भएको हो । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट पर्किने क्रममा डाडाफयामा राति १० बजे सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुने एक महिला र तीन पुरुष रहेका छन्। उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। यस्तै, घाइते हुनेमा सिमकोट–२ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट–६ प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सिकी कल्पना सिंह, एक वर्षीय मिलन सिंह, सम्झना शाही, नाम्खा गाउँपालिका–१ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन्।



घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालका डा.  अंजुक लामाले बताए। घाइते अधिकांशको छाती, टाउको, हात र खुट्टामा चोट लागेको छ।

सम्बन्धित समाचार