नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ मंसिर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओलीले पार्टीलाई अपमान गरेको आरोप लगाएका छन् । उनले पार्टी कमिटीको बैठक बोलाउन निवेदन हाल्नुपर्ने परिस्थिति ‘लज्जाजनक’ रहेको बताए ।
आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले एक जनाको जिद्दीका कारण पार्टी नै समाप्त हुन लागेको र बैठक बोलाउन समेत निवेदन हाल्नुपर्ने लज्जाजनक परिस्थिति पैदा भएको टिप्पणी गरेका हुन् । बैठकको शुरुमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीले पार्टीमाथि अपमानसमेत गरेको आरोप लगाए ।
‘पार्टीको अवस्था यस्तोसम्म आयो कमरेडहरू, बैठक बोलाउन पनि निवेदन हाल्नुपर्ने परिस्थिति सिर्जना भयो । यो अत्यन्तै लज्जाजनक परिस्थिति हो । यसरी न पार्टी उँभो लाग्छ न त देश नै,’ प्रचण्डको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भने । उनले गणतन्त्रको रक्षाका लागि पटक-पटक त्याग गरेको र आवश्यक पर्दा अझ बढी त्याग गर्नेसमेत बताए ।
बैठकमा रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले ओलीले पठाएको पत्र वाचन गरेका थिए । ओलीले सचिवालयमा पेश गरिएको प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने अडान पत्रमार्फत दोहोर्याएका थिए ।
