नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ मंसिर ।

प्रधानमन्त्री केपी ओलीले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने काेशिश भइरहेको बताएका छन् । काठमाडौंको दक्षिणमा रहेको सुवर्णकीर्ति महाविहारमा ज्येष्ठ नागरिक आवास गृहको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाज पथभ्रष्ट हुँदै पुरानो हत्या हिंसाको बाटोमा फर्कन लागेको बताए । पछिल्लो समय समाज दिग्भ्रमित भएको भन्दै प्रधानमन्त्री ओलीले बुद्धका उपदेशलाई इमानदारिताका साथ पालना गर्न आग्रह गरे ।
मोरङको मिक्लागुङ्गमा भएको हत्याको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हत्या हिंसाको पुरानो कालखण्ड दोहोरिन लागेको बताए । साथै आफ्नो सरकारले यस्ता गतिविधि हुन नदिनेतर्फ सचेत रहेको पनि बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा अहिले राजनैतिक समस्या निम्त्याउन खोजिएको पनि बताए । राजनैतिक समस्या निम्त्याउन बलजफ्ती प्रयास भए पनि सफल नहुने पनि बताए ।
प्रधानमन्त्री ओलीले बुद्धका उपदेशले नै संसारमा मैत्री, करुणा र भाइचाराको सम्बन्ध स्थापित भएको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीकी पत्नी एवं राधिका शाक्यले ज्येष्ठ नागरिक भवन निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गरेकी थिइन् ।
