ओलीका दुई रणनीति : सके स्थायी कमिटीमा बहुमत जुटाउने, नसके विवाद समाधानको लागि कार्यदल गठनको माग गर्ने

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी विवाद स्थायी कमिटीमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले नचाहँदा नचाहँदै पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहद्वारा सचिवालयमा पेश भएका दुई अध्यक्षका दुबै प्रतिवेदनलाई स्थायी कमिटीमा छलफलको लागि पेश गरिएको छ । ओलीले भने प्रचण्डको दस्तावेजलाई आरोपपत्रको संज्ञा दिँदै त्यसमा छलफल हुनै नसक्ने भन्दै स्थायी कमिटी बैठकमा उपस्थित हुन मानेका छैनन् ।

नेकपा स्थायी कमिटी बैठक मंसिर २८ गते बस्नेछ । सो बैठकअघि ओली स्थायी कमिटीमा बहुमत जुटाउने प्रयासमा लागेका छन् । त्यसको लागि उनले प्रचण्डसँग असन्तुष्ट रहेका नेताहरूलाई प्रभावमा पर्ने काम गरिरहेका छन् । पछिल्लो समय ओलीनिकट देखिएका पूर्वमाओवादीतर्फका नेता रामबहादुर थापालाई ओलीले चुनावी प्रधानमन्त्रीको अफर गरेर स्थायी कमिटीमा बहुमत जुटाउन प्रयोग गरेको स्रोतले बतायो । थापाले आफूसँग पूर्वमाओवादी तर्फका ५ स्थायी कमिटी सदस्यको साथ रहेको बताउँदै आएका छन् ।



स्थायी कमिटी बैठक अगाडि ओली सके स्थायी कमिटीमा बहुमत समर्थन जुटाउने र नसकेमा फेरि विवाद समाधानको लागि अर्को कार्यदल गठन गरेर विवाद समाधान गर्ने प्रस्ताव पार्टीमा लैजाने रणनीतिमा छन् । ओली कुनै पनि हालतमा प्रचण्डले पेश गरेको प्रतिवेदन दुबै कमिटीबाट फिर्ता लिन बाध्य पारेर नयाँ शिराबाट विवाद समाधान गर्नुपर्ने पक्षमा छन् ।

स्थायी कमिटीमा कसको पक्षमा कति सदस्य ?
४४ सदस्यीय नेकपा स्थाय कमिटीमा प्रधानमन्त्री ओली पक्षमा १५ सदस्य रहेका छन् । त्यसैगरी प्रचण्डसँग १२ र नेपालसँग १२ सदस्यको समर्थन गहेका छन् । रामबहादुर थापानिकट भने ५ सदस्य रहेको बताइन्छ । यद्दपि थापाले आफूनिकट भनिएका केही सदस्यले भने प्रचण्डको साथ छोडेको पक्का छैन । यदि थापाले भनेजस्तो उनको समर्थनमा ५ जना रहेको र उनले ओलीलाई सार्थन गरेको खण्डमा ओलीलाई बहुमत जुटाउन केवल ३ सदस्यको आवश्यकता पर्दछ । सो बमोजिम ओलीले ३ सदस्यलाई आफ्नो प्रभावमा पार्ने प्रयास गर्ने भएका छन् ।

यदि ओलीले स्थायी कमिटीमा बहुमत जुटाएमा बहुमतले प्रचण्डको प्रतिवेदन अस्वीकार गर्नेछ र जारी विवाद नयाँ शिराबाट समाधानको प्रयास हुनेछ । तर ओलीले बहुमत जुटाउन नसकेमा भने कार्यदलको प्रस्ताव अघि सार्नेछन् ।

यता प्रचण्ड–नेपाल समूह भने स्थायी कमिटीमा आफूहरूको सुविधाजनक बहुमत रहेको भन्दै जारी विवादको छिनोफानो बहुमतले नै गर्ने बताउँदै आएका छन् । मंसिर २८ लाई डाकिएको स्थायी कमिटी बैठकमा ओली उपस्थित नभएमा बहुमतको आधारमा ओलीलाई सरकारबाट फिर्ताको निर्णय गराउने तयारीमा प्रचण्ड नेपाल समूह रहेको छ ।

सम्बन्धित समाचार