नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ मंसिर ।

पार्टीभित्रको विवाद जटिल मोडमा पुगेका बेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार भेटवार्ता भएको छ । ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्डले पार्टीमा देखिएको विवाद समाधान लगायतका विषयमा छलफल गरेका थिए ।
करीब सवा घण्टा दुई अध्यक्षबीच सामान्य छलफल भएपनि कुनै निष्कर्ष भने निस्किन नसकेको बताइएको छ । मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा ओलीले प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्तावमाथि छलफल गर्न नसकिने र त्यस्तो बैठकमा उपस्थित नहुने बताएका थिए । नेकपा स्थायी कमिटीको बैठक मंसिर २८ गतेका लागि सरेको छ ।
यसबीचमा ओलीसँग सहमति कायम गर्न स्थायी कमिटीले प्रचण्डलाई आग्रह गरेको थियो । यसअघि मंसिर २० गते बसेको सचिवालय बैठक अघि पनि ओली–प्रचण्ड छलफल भएको थियो । आजको भेटमा पनि ओलीले प्रतिवेदन फिर्ता गर्नुपर्ने आफ्नो शर्त कायमै रहेको बताएका थिए ।
