नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ मंसिर ।

नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन कार्यतालिका कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ । कांग्रेसले गत असार २२ गते केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो ।
कोभिड–१९ कारण कार्यतालिकाअनुसारको क्रियाशीय सदस्यता र पार्टीको अन्तरिम संरचना समायोजन तालिका प्रभावित भइसकेको छ । पार्टीको क्रियाशीय सदस्यता वितरण र नवीकरण कार्य निर्धारित समयमै सम्पन्न नभएपछि अन्य अधिवेशन पनि प्रभावित हुने निश्चित छ ।
सोही कारण यही मङ्सिर अन्तिममा हुने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन कार्यतालिका संशोधन गरिने पार्टी कार्यालयले जनाएको छ । कांग्रेसको विधानअनुसार आगामी फागुन २० गतेसम्म १४औं महाधिवेशन उद्घाटन गरिसक्नुपर्छ । कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने र असाधारणस्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउनसक्ने उल्लेख छ ।
कांग्रेसको १३औं महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौंमा भएको थियो । कांग्रेसले कोभिड–१९ को वर्तमान विषम परिस्थितिमा अब नेपालको संविधानमा भएको व्यवस्थाको सहारा लिएर महाधिवेशनको मिति सार्ने जनाएको छ ।
