नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ मंसिर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट आन्दोलनको भ्रष्टीकरणविरुद्ध लाग्दा आफूलाई नियोजित रुपमा फसाउन खोजिएको बताएका छन्। कम्युनिस्ट नेता कमानसिंह लामाको मृत्युपछि बाहिरिएको अडियोरभिडियो सामग्रीका विषयमा श्रेष्ठ विवादित भएका छन्। जसलाई श्रेष्ठले नेपाली कम्युनिस्ट आन्दोलन भ्रष्टीकरणतिर भएको विषयमा निरन्तर पैरवी गर्दा आफूमाथि प्रहार भएको रुपमा अर्थ्याएका छन्।
‘मैले कम्युनिस्ट आन्दोलन भ्रष्टीकरण गएको विषयमा निरन्तर बोल्दै, लेख्दै र पैरवी गर्दै आइरहेको छु। त्यो अभियानलाई कमजोर पार्न मेराविरुद्ध प्रचार गरियो । यस्ता आक्षेपबाट कुनै हालतमा विचलित हुन्नँ। त्यसका विरुद्ध दृढतापूर्वक उभिन्छु’ श्रेष्ठले भने । आर्थिक लेनदेनमा आफ्नो कुनै संलग्नता नभएको बताउँदै श्रेष्ठले दुई पक्षलाई मिलाउन सहजीकरण मात्रै गरेको दाबी गरे।
‘आर्थिक लेनदेन मसँग जोडिएको वा सरोकारको विषय होइन। कमानसिंहजी र सुसनजीको आर्थिक लेनदेनको विषय हो। उहाँहरु मिल्न नसकेपछि मलाई मिलाइदिनुपर्यो भन्न आउनुभएको हो’, श्रेष्ठले भने, ‘मैले कमानसिंहजी पनि मेरो मान्छे, सुसनजी पनि मेरो मान्छे। दुवै पक्ष मिल्नुस् मात्रै भनेको हो। त्यो मैले भनेको भिडिओमा पनि सुन्न सकिन्छ। त्यही विषयलाई जोडेर मलाई विवादमा मुछ्न खोजियो।’
आफूले आर्थिक लेनदेन हुनेगरी बार्गेनिङसमेत नगरेको श्रेष्ठले प्रष्टीकरण दिए।
