नवकान्तिपुर संवाददाता
नुवाकोट, २७ मंसिर ।

२०७२ वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त भई पुनः निर्माण गरिएको ककनी गाउँपालिका वडा नं. २ स्थित यमनाथ न्यौपानेको दुई तले पक्की घर पुनः धराशयी हुने अवस्थामा पुगेको छ । घरभन्दा लगभग ३०० मिटर तल सडक–वाल बनाउँदै गर्दा सुख्खा पहिरो गई घरलाई समेत बस्नै नहुने गरी क्षति पुर्याएको हो ।
२०७२ सालको भूकम्पले यस क्षेत्रका अधिकांश घरहरू क्षतिग्रस्त भएका थिए र पछि पुनः निर्माण पनि गरिएका थिए । पुनः निर्माण गर्ने क्रममा न्यौपानेको घर पनि दुई वर्ष अगाडि मात्र पुनःनिर्माण भएको थियो । तर घरभन्दा तल कृषि सडक बनेको र सोही सडकको वाल बनाउँदै गर्दा जमीनमा धाँजो फाटी सुख्खा पहिरो जाँदा न्यौपानेको घर अहिले जोखिममा परेको हो ।
जोखिममा परेको परिवारको स्थानान्तरणका बारेमा गाउँपालिका प्रमुख मानबहादुर लामासँग नवकान्तिपुरले सम्पर्क गर्दा उनले स्थानीय निकायले यथासम्भव सहयोग गर्ने बताए । ६० लाखभन्दा बढी रकम खर्च गरेर बनाएको घरमा एक वर्ष पनि बस्न नपाउँदै भत्कने अवस्थामा पुगेपछि न्यौपाने परिवार चिन्तामा त परेको छ नै, कठ्याङ्ग्रिदो जाडोमा स–साना बाल बच्चाहरूलाई छाप्रोमा हुर्काउनु पर्दा थप मारमा समेत परेको छ ।
