पार्टीभित्रका बहस समाजवादको यात्राका लागि हुन् : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा भएको बताएका छन् । नेपाली कांग्रेस परित्याग गरी नेकपा प्रवेश गरेकी नेतृ कौसर साहसहित १ सय ९ जना नेता तथा कार्यकर्तालाई आज स्वागत गर्दै उनले पार्टी भित्र चल्ने बहस र छलफलहरु त्यही समाजवाद तिरको यात्राका लागि भएको पनि दावी गरे ।

कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यताहरुलाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता पालना गर्ने लगायतका कुरा नै अहिलेको बहसका विषय भएको उनले बताए । अध्यक्ष प्रचण्डले चुनौतिहरु आए पनि सामना गर्न सक्ने तागत कम्युनिष्ट पार्टी भित्रै रहेको जिकिर गरे । कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले समाजमा रहेका सबै विकृति, विसंगति, भेदभाव, अन्याय अत्याचार र थिचोमिचोलाई समाप्त पार्न सक्ने खुबी नेकपामा मात्रै रहेको बताए ।



नेपालले संविधानसभा सदस्य रही सकेकी साहलाई विगतदेखि नै आफ्नै पार्टीको नेता ठान्ने गरेको बताए । उनले भने, ‘मन मिल्नेहरु एउटै ठाउँमा आउँदा रहेछन । मानिसहरुको बानी व्यहोरा र चिन्तन प्रणालीले एक ठाउँमा ल्याउने रहेछ ।’

पार्टीमा प्रवेश गर्दै नेतृ साहले नेपाली कांग्रेसमा गुण्डा पाराले पार्टी भित्र हैकम चलाएकाले आफूले पार्टी परित्याग गरेको बताइन् । उनले देशमा आएको जाति, लिंग र समुदायहरुमा आएको परिवर्तन कम्युनिष्ट पार्टीले नै ल्याएको दाबी गरिन् ।

सम्बन्धित समाचार