बालुवाटारमै बस्ने भयो नेकपा स्थायी कमिटी बैठक, एजेण्डा परिवर्तन भएपछि ओली पनि सहभागी हुने

आज बस्ने सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकको स्थान परिवर्तन गरिएको छ। यसअघि धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा राखिने भएको हो। दिउँसो एक बजे बोलाइएको बैठकको एजेण्डा पनि परिवर्तन भएको छ ।

दुई अध्यक्षको राजनीतिक प्रतिवेदनमा छलपल हुने पूर्वनिर्धारित एजेण्डा स्थगित गरी आजको बैठकमा शोक प्रस्ताव पेश हुनेछ । नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ ।



पूर्व राजदूत एवम् पूर्व सांसद लामाको गएको मंसिर २४ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो । बैठकको अर्को मिति भने शोक प्रस्ताव पारित भएपछि तय हुनेछ । एक नेताका अनुसार, शोक प्रस्ताव पारित भएपछि बैठक नियमित कार्यसूची तर्फ नबढाउने प्रचलन छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सचिवालय बैठकमा आरोप–प्रत्यारोप पत्रको दोहोरी नै चलेपछि पार्टी विवाद स्थायी कमिटीमा पुगेको छ । एजेण्डा परिवर्तन भएपछि आजको बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने बताइएको छ ।

 

 

सम्बन्धित समाचार