नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।

पार्टीको बैठक चलिरहेका बेलामा संवैधानिक परिषदको बैठक बोलाइएको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका छन्। स्थायी कमिटीको बैठक चलिरहेका बेलामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले सहमतिको वातावरण बनाउनुको सट्टा थप विवाद चर्काउन लागेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका हुन्।
हिजोको सहमति र समझदारीलाई लत्याउँदै प्रधानमन्त्री ओलीले प्रमुख विपक्षीसँग सहमति गरेर अघि बढ्न खोजेको समेत प्रचण्डको भनाइ छ।
‘पार्टीको बैठकलाई छलेर संवैधानिक परिषदतिर लागिएको छ। यसले नेकपामा थप अन्तरविरोध चर्किने निश्चित छ’ प्रचण्ड निकट एक नेताले भने,’बिपक्षी दलले मागे अनुसार नै संवैधानिक परिषदमा भाग दिन लागिएको छ। पार्टीको छलफललाई बेवास्ता गरिएको छ। ओलीबाटै फुटको वातावरण सिर्जना भइरहेको छ।’
प्रधानमन्त्री ओलीले मंगलबार ९ बजे संवैधानिक परिषदको बैठक बोलाएका छन्। यसअघि शनिबार बोलाईएको बैठकमा कांग्रेस सभपति शेरबहादुर देउवा उपस्थित नभएपछि स्थगित भएको थियो ।
