नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।

संवैधानिक परिषद्को बैठक आज बस्दै छ । विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित हुने भएपछि आइतबारको संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाका स्वकीय सचिव उदय तिमिल्सिनाले एजेन्डा नखुलाइएको, तर बिहान नौ बजे बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए । बैठकका लागि सदस्यलाई एजेन्डासहित पत्र लेख्नुपर्ने व्यवस्था भए पनि पत्रमा एजेन्डा नखुलाइएको परिषद्का एक सदस्यले पुष्टि गरे ।
परिषद्को बैठकसम्बन्धी कार्यविधिमा ‘बैठक बस्ने मिति, समय र स्थान तथा छलफलको विषय–सूचीसहितको सूचना बैठक बस्नुभन्दा कम्तीमा ४८ घन्टा अगावै सदस्यहरूलाई पठाउनुपर्ने’ उल्लेख छ । तर, कार्यसूचीमा समावेश नभएको कुनै विषयमा छलफल हुन आवश्यक छ भन्ने कुनै सदस्यलाई लागेमा निजले अध्यक्षको अनुमति लिई बैठकमा प्रस्ताव राख्न सक्ने व्यवस्था छ । कार्यविधिमा बैठकमा पेस भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुने व्यवस्था छ । तर, त्यस दिन निर्णय नभए अर्को बैठकमा त्यही कार्यसूचीमाथि बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था छ ।
यता बैठकबारे पार्टीमा छलफलै नगरेको र कांग्रेससँग मिलेर आफूखुसी नियुक्ति गर्न लागेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध उनकै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल भने रुष्ट भएका छन् ।
