नयाँ वर्षको अवसरमा खुकुरी प्रस्तुत गर्दैछ ‘खुकुरी म्युजिक नेसन’

अँग्रेजी नयाँ वर्ष २०२१ को शुभारम्भका अवसरमा खुकुरीले ‘खुकुरी म्युजिक नेशन’ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । प्राप्त विज्ञप्तिका आधारमा यसमा नेपालका ख्याति प्राप्त स्थापित कलाकारहरूका साथै उदयमान कलाकारहरूको प्रस्तुति रहनेछ ।

खुकुरीले विज्ञप्तिमा भनेको छ– ‘जसरी हामीमा साँस्कृतिक विविधता छ, त्यसरी नै नेपाल सांगीतिक विविधताको घर पनि हो, जसको कारणले हामी नेपालीहरू त्यसमा गर्व गर्दछौं । हामी पश्चिमी प्रभावलाई नकार्न सक्दैनौ, जसलाई आजका युवा पुस्ताहरूले हार्दिकताका साथ अँगीकार गरेका छन् । अहिले, नेपाली संगीतमा पूर्वी र पश्चिमी संगीतको संयोजन पाइन्छ, यसले गर्दा आज नेपाली संगीत हरेक किसिमका श्रोताहरू माझ पुग्न सफल भएको छ । यसैले खुकुरी रम नेपाली संगीतमा गर्व गर्दछ र यो अभियान मार्फत् नेपाली संगीतको उत्सव मनाउन चाहन्छ ।’



खुकुरी रमले आफ्नो वेबसाइटमार्फत् एउटा प्रतियोगिता संचालन गर्नेछ, जहाँ आवेदकहरूले आफूभित्र रहेको साँगीतिक प्रतिभाको भिडियो अपलोड गरेर प्रस्तुत गर्न सक्नेछन् । यसरी भिडियो अपलोड गर्ने प्रतिभाहरूमध्येबाट टप १६ प्रतियोगीहरूको नाम यही २०२१ जनवरी १ तारिखमा आयोजना हुने खुकुरी देशको संगीतको प्रत्यक्ष साँगीतिक कार्यक्रमबाट उद्घोष गरिनेछ ।

प्रतियोगिताको निर्णायकहरूमा चर्चित स्टारहरू– विपुल क्षेत्री, समृद्धि राई र सविन राई (नेपाली लोकप्रिय ब्याण्ड सविन राई एण्ड द फारोबाट) रहनेछन् ।

जनवरी १ तारिखमा सम्पन्न हुने साँगीतिक कार्यक्रममा ख्याति प्राप्त नेपाली कलाकारहरू कबवेब, समृद्धि राई, विपुल क्षेत्री, सविन राई एण्ड द फारो, द एक्स ब्याण्ड र द इलिमेन्ट्सले पनि प्रस्तुति दिने छन् । हाल कोभिड–१९ को कारणले गर्दा खुकुरी देशको संगीत कार्यक्रममा प्रत्यक्ष उपस्थिति रहने छैन तर यो कार्यक्रम नेपालमै पहिलो चोटी बृहत् अनलाइन कन्सर्ट गरेर गरिने छ । यस प्रतियोगिताको परिणाम्को घोषणा २०२१ फेब्रुअरी २१ मा गरिने छ भने यस घोषणासँगै नेपाली संगीतका क्षेत्रमा नयाँ नेपाली संगीत स्टारको उदय हुनेछ । विजेताले रू.११ लाख बराबरको खुकुरी म्यूजिकलसँगको करार प्राप्त गर्नेछन् भने अन्य कलाकारहरूका साथमा प्रस्तुतिको अवसर पनि प्राप्त हुनेछ ।

सम्बन्धित समाचार