नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता नलिए ओलीले सरकारबाट फिर्ता बोलाउने तयारी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले पार्टीमा कुनै परामर्शविनै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि विवाद चर्किएको बेलामा आजको बैठकलाई चासोकासाथ हेरिएको छ ।

प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालयका बहुमत सदस्यहरु उनीसँग थप असन्तुष्ट बनेका छन् । ओलीले पार्टीमा परामर्श नै नगरी ल्याएको अध्यादेश फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।



अध्यादेश जारी भएलगत्तै असन्तुष्ट स्थायी कमिटीका बहुमत सदस्य हिजो खुमलटारमा भेला भएका थिए । उनीहरुले आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने निष्कर्ष निकालेका छन् । अध्यादेश फिर्ता नलिएरमा ओलीलाई सरकारबाटै फिर्ता बोलाउने तयारी प्रचण्ड समूहको रहेको छ ।

पार्टीभित्र देखिएको अन्तरविरोध र यसले निम्त्याएको समस्या समाधानमा केन्द्रित हुने बेला प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन् चर्किएको छ । अध्यादेश प्रकरणपछि राष्ट्रपति विद्या भण्डारी पनि विवादमा मुछिएकी छिन् ।

सम्बन्धित समाचार