
अध्यादेश प्रकरणपछि नेकपाभित्रको आन्तरिक किचलो थप बढेको छ । आजको स्थायी कमिटी बैठकमार्फत प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट फिर्ता बोलाउने तयारी भएपछि ओली पक्षका नेता शंकर पोखरेल कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न बुधबार बिहानै खुमलटार पुगेका छन् ।
ओलीले मंगलबार पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याएपछि त्यसको चर्को विरोध भइरहेको छ । खासगरी प्रचण्ड र उनीपक्षीय नेताहरुले असंवैधानिक ढंगले अध्यादेश ल्याएको भन्दै खारेज गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीको कार्यशैलीको चर्को विरोध भइरहेका बेला ओलीले पुन सहमति र छलफलबिनै अध्यादेश ल्याउपछि विवाद थप बढ्ने निश्चित भएका बेला ओली पक्षीय नेता तथा स्थायी समिति सदस्य पोखरेल प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् ।
लुम्विनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल ओलीको दूतका रुपमा खुमलटार पुगेको स्रोतको दावी छ । आजै बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता गर्न निर्देशन दिने तयारी नेताहरुले गरेका छन् । अध्यादेश फिर्त लिन तयार नभए ओलीलाई सरकारबाटै फिर्ता बोलाउने तयारी प्रचण्ड माधव नेपाल समूहको रहेको छ ।
