शीतलनिवासमा पाँच घन्टा कुरेर निवेदन दर्ता नगरी फर्किए रावल र भुसाल

संसद्का विशेष अधिवेशन बोलाउन माग गर्दै एकचौथाइ सांसदको हस्ताक्षरसहितको निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेका नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका सांसदद्वय भीम रावल र पम्फा भुसाल पाँच घन्टासम्म राष्ट्रपति कार्यालयमा कुरेर निवेदन दर्ता नगरी फर्किएका छन् ।

दिउँसो १२ः४८ मा शीतलनिवास पुगेको उनीहरू साँझ ६ बजेमात्रै फर्किएका हुन् । अध्यादेश फिर्ता लिने र स्थायी कमिटीमा छलफल हुने भएपछि शीलतनिवासबाट फर्किएको रावलले बताए । यसअघि उनले दर्ता नम्बर नलिई नफर्कने बताएका थिए ।



उनले भनेका थिए, ‘हामी अहिलेसम्म पनि यहीँ (शीतलनिवास) छौँ । १२ बजेर ४८ मिनेटमा हामी यहाँ आएका हौँ । नेपाल कम्युनिस्ट पार्टीका ८३ जना सदस्यको हस्ताक्षरसहित विशेष अधिवेशन बोलाउन माग गर्दै निवेदन दर्ता गर्न आएका हौँ । संसद्को बैठक बोलाउनुपर्ने वेलामा जसरी अध्यादेश आयो, यस्तो संवेदनशील विषयमा छलफलका लागि बैठक बोलाउन वाञ्छनीय भएकाले हामीले संविधान र प्रतिनिधिसभाको नियमावलीबमोजिम पत्र दर्ता गर्न आएका हौँ । हामीले राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई भन्यौँ । उहाँ राष्ट्रपतिलाई जानकारी गराएर दर्ता नम्बर दिन्छु भनेर जानुभयो । त्यसपछि उहाँ आउनुभएको छैन । फोन पनि स्विच्डअफ छ । हामी दर्ता नम्बरको प्रतीक्षामा छौँ ।’

सम्बन्धित समाचार