लमजुङमा ३५ वर्षीया महिलाको विभत्स हत्या

लमजुङको सुन्दर बजारमा ३५ वर्षीया महिलाको विभत्स हत्या भएको छ। सुन्दरबजार नगरपालिका- ४ चारघरे दुराडाँडाका ध्रुव भुजेलकी ३५ वर्षीया पत्नी धनमाया भुजेलको बुधबार घरमै हत्या भएको प्रहरीले जनाएको छ।

पति ध्रुव भुजेल बिहान काम गर्न घरबाट निस्किएपछि धनमाया घरमा एक्लै थिइन्। बिहान छिमेकीले आँगनमा रगत देखेपछि प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एसपी गंगाबहादुर थापाले जानकारी दिए। प्रहरीले धनमायाको शव आँगनको डिलमा रहेको पुरानो गोवरग्याँसको ट्याँकिमा लुकाएको अवस्थामा फेला पारेको छ।



‘घाँटीमा पछ्यौरा कसिएको अवस्थामा शव फेला परेको छ,’ उनले भने, ‘एउटा आँखा पनि फुटेको छ, घटना शंकास्पद छ। हामी अनुसन्धान गर्दै छौँ।’ घटना अनुसन्धानका लागि पोखराबाट एक प्रहरी टोली टोलीकुकुरसहित घट्नास्थलमा पुगेको छ। बुधबार साँझसम्म पनि कुकुरले हत्यामा संलग्नको भेउ पाउन नसकेको प्रहरीले जनाएको छ।

ध्रुवको धनमायाँसँग दोस्रो विवाह हो। उनी वैदेशिक रोजगारीमा रहेका बेला जेठी पत्नीले दोस्रो विहे गरेपछि ध्रुबले धनमायासँग चार वर्षअघि विवाह गरेका थिए। उनका जेठी पत्नीतर्फ तीन छोराछोरी छन्। घनमाया तर्फ भने अहिलेसम्म सन्तान नभएका छिमेकीले बताएका छन्।

सम्बन्धित समाचार