
टीकापुरमा उच्च सुरक्षा अधिकारी र नाबालक गरी ९ जनाको हत्या घटनामा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका निलम्बित सांसद रेशम चौधरीको मुद्दाको सुनुवाइ भैरहेको छ। उच्च अदालत दिपायलमा चौधरीसहित अन्य अभियुक्तको पुनरावेदनमा सुनुवाइ हुन लागेको हो। उच्च अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर र सीताराम मण्डलको इजलाशले चौधरीको मुद्दा सुनुवाइ थालेको हो।
२०७५ फागुन २२ गते जिल्ला अदालतले चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै फैसला सुनाएको थियो। फैसलाभन्दा केही समयअघि चौधरीलाई सांसदको सपथ खुवाइएको थियो। तर जिल्ला अदातले जन्मकैदको फैसला सुनाएपछि उनको सांसद पद निलम्वनमा परेको थियो।
उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या घटनामा जिल्ला अदालत कैलालीले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध चौधरीसहितका निवेदकले २०७६ बैशाख २९ गते पुनरावेदन गरेका थिए। जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले उनीहरुलाई दोषी ठहर गरेको थियो।
