
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै जाँदा दुबै समूहले आन्तरिक भेला गर्दै आएका छन् । यसैक्रममा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले काठमाडौंमै प्रदेश-१ को पार्टी भेला आयोजना गरेका छन्।
प्रचण्ड र नेपाल समूहले प्रदेश-१ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरु तथा प्रदेश-१ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाईसमेत भेलामा बोलाएको छ । पार्टीको अवस्था र अहिलेको परिस्थितिबारे जानकारी गराउन भेला आयोजना गरिएको प्रदेश-१ का पार्टी सचिव सुरेश राईले बताए।
अपरान्ह १ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा हुने भेलालाई पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेश गौतम र नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
यसअघि बागमती प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भर्चुअल भेला समेत प्रचण्ड-माधव नेपाल पक्षले गरिसकेको छ। प्रचण्ड–माधव नेपाल समूहले विद्यार्थीको भेला समेत बिभिन्न प्रदेशमा गरिसकेको छ ।
