
सत्तारुढ नेकपामा देखिएको विवादको असर जिल्लातहसम्म पुगेको छ। म्याग्दीस्थित अनेरास्ववियु क्रान्तिकारीका तत्कालीन जिल्ला उपाध्यक्ष यामनाथ पौडेलको शोकसभामा भाग लिन पुगेका अनेरास्ववियु सह-संयोजक रञ्जीत तामाङ र संयोजक ऐन महर समर्थक विद्यार्थीबीच झडप भएको छ ।
महर समर्थक विद्यार्थीहरुले बेनीस्थित एक होटलमा गुटभेला गर्न आएको भन्दै तामाङलाई घेरेका थिए। त्यसक्रममा भएको विवाद हात हालाहालको अवस्थामा पुगेपछि प्रहरी नै परिचालित गर्नुपरेको थियो। सह-संयोजक तामाङले संगठनको ब्यानरमै पत्रकार सम्मेलन गर्न थालेपछि पुगेका महरनिकट विद्यार्थीहरु प्रतिवादमा उत्रिएका थिए। उनीहरु विवादमा उत्रिएपछि प्रहरी गएर घटनालाई साम्य पार्नु परेको थियो।
दुई पक्षबीच धकेलाधकेल भएको थियो। महरनिकट विद्यार्थीहरुले गुट भेला गर्न आएको भन्दै आपत्ति व्यक्त गरेका थिए। म्याग्दीस्थित सह-अध्यक्ष रेशम कटुवालले जिल्ला कमिटीमै जानकारी गराएर सह-संयोजक तामाङ आएको भन्दै यस्ता आरोपले संगठन बिग्रिने बताएका छन्। पूर्व माओवादीनिकट विद्यार्थीहरुले संगठनका सह-संयोजकलाई रोक्न खोजेर पूर्व एमालेहरुले दम्भ देखाएको आरोप लगाएका छन्।
