
जिल्ला प्रहरी कार्यालय लमजुङले धनमाया भुजेलको हत्या अबैध सम्बन्धकै उपज भएको निष्कर्ष निकालेको छ । हत्या अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ पनि गरेको छ । बुधबार बिहान अन्दाजी साढे ८ बजे सुन्दरबजार नगरपालिका– ४ चारघरे बस्ने ध्रुव भुजेलकी श्रीमती ३४ वर्षीया धनमाया भुजेलको हत्या अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
पक्राउ परेका दुबै युवकले अबैध सम्बन्धकै कारण भुजेलको हत्या गरेको स्वीकारेको प्रहरीले जानकारी दियो । सुन्दरबजार नगरपालिका– ३ बस्ने २० वर्षीय सागर भुजेल र सोही ठाउँ बस्ने १९ वर्षीय विकास भुजेललाई घटनाको ३६ घन्टा नबित्दै पक्राउ गरिएको लमजुङका डिएसपी गंगाबहादुर थापाले बताए । प्रहरीले सागरलाई पोखरा र विकासलाई घरबाटै पक्राउ गरेको हो ।
धनमायाको शव विहीबार गोबरग्यासको ट्यांकीभित्र स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । मृतक र पक्राउ परेका सागरबीच केही महिना अगाडिदेखि शारीरिक सम्बन्ध हुने गरेको र मृतक गर्भवती छिन् भन्ने हल्ला सागर भुजेलले गाउँमा सुनेपछि धनमायालाई एक महिनाअगाडिबाट नै मार्ने सोच बनाई हत्या गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
मृतकका श्रीमान् मंगलबार बिहानै कृषि फर्ममा काम गर्न गएको यकिन गरी दुवैजना मृतकको घरमा गई मृतक सुत्ने कोठामा प्रवेश गरी जाँतो र ढुंगाले अनुहार र टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको डिएसपी थापाले बताए ।
