
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूबीच छलफल भएको छ। शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दुई दलका नेताहरुबीच छलफल भएको हो।
स्रोतका अनुसार उक्त छलफलमा कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशशरण महत सहभागी छन् भने जसपाबाट केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको संवैधानिक अध्यादेश लगायतको विषयमा छलफल भइरहेको स्रोतले जनायो। साथै दुई दलको तर्फबाट संसदको विशेष अधिवेशन बोलाउनेबारे पनि छलफल भएको स्रोतले बतायो ।
दुई पार्टीबीच संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने र लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड-१९ को विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको हो।
