
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी ओलीलाई कारवाही गर्ने तयारी थालेको छ। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितका बहुमत सचिवालय सदस्यहरुले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी थालेका हुन्।
आज नेकपाको स्थायी कमिटीको बैठक बस्दै छ। बैठकमा ओली भने सहभागी नहुने अडानमा छन्। अहिले नेकपाको प्रचण्ड-नेपाल समूह भने स्थायी कमिटी बैठकको लागि बालुवाटारमा भेला हुँदैछन् ।
यसअघि ओलीले हठात्मा संसद विघटन गर्न सिफारिस गरेपछि प्रचण्डले पार्टीका नेताहरु, मन्त्रीहरु र कानुनविद्सँग परामर्श गरेका थिए। आफ्नै निवास खुमलटारमा प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य जनार्दन शर्मासहित उर्जामन्त्री वर्षमान पुन, बनमन्त्री शक्ति बस्नेत र केही कानुनविद्सँग छलफल गरेका हुन् । सोही छलफलपछि ओलीलाई स्थायी कमिटी बैठकबाट कारवाही गर्ने निष्कर्षमा प्रचण्ड नेपाल समूह पुगेको हो ।
