
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद् विघटन संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ । कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको बैठकले संसद् विघटन संविधान विपरीत भएको भन्दै संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको हो ।
बैठकपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार प्रतिनिधि सभा विघटनको घोषणालाई संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको निष्कर्ष बैठकले निकालेको बताए ।
संसद् विघटनको निर्णयविरुद्ध तीन वटै पार्टीले एकताबद्ध भएर अगाडि बढ्ने समझदारी पनि भएको उनले बताए । मङ्गलबार (भोलि) तीन वटै दलले केन्द्रीय कमिटी बैठक बोलाएको उल्लेख गर्दै उनले बैठकपछि फेरि छलफल गरी आउँदा कार्यक्रम घोषणा गरिने बताए ।
कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध तीन वटै पार्टी एकमत भएको निष्कर्ष बैठकले निकालेको बताए । केन्द्रीय कार्यसमिति बैठकपछि आउँदा दिनमा सरकारको यो कदमविरुद्ध कसरी अगाडि बढ्ने भन्ने कुरामा सहमति भएको उनको भनाइ छ ।
