धुम्बाराही पार्टी कार्यालय ओली पक्षले गर्यो कब्जा

नेकपा फूटको संघारमा पुगेका बेला पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री केपी ओली पक्षले ताला लगाएको छ। दुई अध्यक्षको नेतृत्वमा पार्टी कमिटीका समानान्तर बैठक चलिरहेको र आन्तरिक तनाव बढिरहेका बेला कार्यालयमा पनि ताला लगाइएको हो।

आइतबार प्रधानमन्त्री ओलीले हठात संसद भंग गरिदिएपछि दुबै अध्यक्षको बैठक पार्टी कार्यालयमा बसेको छैन। प्रचण्ड–नेपाल पक्षले धुम्बाराहीमा बैठक राख्न खोजेको थियो। त्यसका लागि सोमबार पौने १२ बजे कार्यालयमा सामान मिलाउने तयारी हुँदे गर्दा महासचिवको निर्देशनमा कुनै काम नगर्न निर्देशन आएपछि प्रचण्ड–नेपाल पक्ष पछि हटेको स्रोतले जनाएको छ।



धुम्बाराहीको कार्यालयलाई महासचिवको निर्देशनमा कब्जा गर्न खोेजिएको प्रचण्ड–नेपाल पक्षले बताएको छ। नेकपाका दुई जना कार्यालय सचिव छन्। ओली पक्षबाट ईश्वरी रिजाल र प्रचण्ड पक्षका श्रीराम ढकाल छन्।

दुई फरक पार्टी अभ्यासको झल्को दिनेगरी आजको केन्द्रीय समितिको बैठकको सूचना पनि रिजाल र ढकालले छुट्टा छुट्टै पठाएका थिए। नेकपाका दुई अध्यक्षले मंगलबार फरक स्थानमा केन्द्रीय समितिका छुट्टाछुट्टै बैठक राखेका छन्।

प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले बालुुवाटारमा विहान ९ बजे केन्द्रीय समितिको बैठक राखेका छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्की बैक्वेट बबरमहलमा दिउँसो १ बजेका लागि तय गरेका छन्।

सम्बन्धित समाचार