
संसद् विघटन गर्ने सरकारको कदमविरूद्ध प्रचण्ड-नेपाल पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्ने भएका छन् । प्रचण्ड-नेपाल पक्षले शुक्रबार साढे ९ बजे वृहत प्रदर्शन गर्ने भएको छ। प्रचण्ड-माधव पक्षको बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजना गरेको केन्द्रीय कमिटी बैठकमा प्रतिनिधि सभा विघटनविरूद्ध सडकमा जान लागिएको बताएको हो।
नेपाली कांग्रेसले पनि केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो।
महामन्त्री पूर्णबहादुर खड्काले दिएको जानकारीअनुसार संघीय निर्वाचन क्षेत्रहरूमा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ।प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए। उक्त कदमलाई कांग्रेसले असंवैधानिक भनेको छ। आजै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्य भेलाले सरकारविरूद्ध आन्दोलनमा जाने निष्कर्ष निकालेका थिए।
अहिले केन्द्रीय कार्यसमिति बैठक जारी छ। केन्द्रीय सदस्यहरूले बैठकमा धारणा राखिरहेका छन्। मंगलबारदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निरन्तर चलिरहेको छ।
