प्रचण्ड–नेपाल समूह पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोगमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको छ । प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पार्टीका केन्द्रीय कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभाका सांसदसहितको टोली पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको हो ।

यस समूहले आफ्नो पक्षका दुई सय ९५ केन्द्रीय समिति सदस्यको हस्ताक्षर र विहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयको आधिकारिक प्रतिलिपि निर्वाचन आयोगलाई बुझाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। पेस गरिएका कागजातलाई नेपालको संविधान, राजनीतिक दलसम्बन्धी कानुनका आधारमा हेरेर छिट्टै नेकपा विवादको कानुनी निरूपण गरिने वचन प्रमुख निर्वाचन आयुक्तले दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । त्यस अवसरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा वैधानिकताको प्रश्न आएको भन्दै आफूहरू आधिकारिक भएको बताए ।



केन्द्रीय कमिटीका करिब दुई तिहाइको हाराहारीका सदस्यहरू आफूतिर रहेको बताउँदै अध्यक्ष प्रचण्डले सबै स–शरीर उपस्थित भएको र आउँदा दिनमा पनि निर्वाचन आयोगले चाहे दुई सय ९५ सदस्य नै स–शरीर उपस्थित हुन सकिने बताए ।

स–शरीर उपस्थित हुनुभन्दा ठूलो कुनै प्रमाण हुन नसक्ने जिकिर गर्दै प्रचण्डले पार्टीको आधिकारिकता, चुनाव चिह्न र केन्द्रीय सदस्यहरूको नामावलीलाई वैधानिक व्यवस्थाअनुसार छिट्टै निर्क्योल तथा निर्णय गरिदिन निर्वाचन आयोग समक्ष माग गरे ।

सम्बन्धित समाचार