नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ पुस ।

नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था फर्काउने सम्भावना रहेको दाबी गरेका छन्। नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतको अंग्रेजी राष्ट्रिय दैनिक ‘द ट्रिब्युन’ मा लेख लेख्दै पूर्वराजदूत पुरीले वर्तमान घटनाक्रम हेर्दा नेपालमा राजसंस्था पुनःस्थापना हुने सम्भावनालाई नर्कान नसकिने विश्लेषण गरेका हुन्।
पुरीले पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री ओलीबीच सम्झौता भएको हुन सक्ने आशंका गरेका छन्। उनले लेखेका छन्, ‘राजतन्त्र अन्त्यपछिको एक दशकसम्म पूर्वराजा चुपचाप रहेको भए पनि पछिल्लो समय राजतन्त्रवादीको देशव्यापी प्रदर्शनपछि भने नेपालमा सरकार र पूर्वराजा वा उनका पक्षधरसँग कुनै सम्झौता हुन सक्छ। पूर्वराजा वा उनका समर्थकसँग सम्झौताको सम्भावना अस्वीकार गर्न सकिँदैन।’
ओलीले पहिले पनि आफू सांस्कृतिक राजाका पक्षमा रहेको बताउने गरेको उल्लेख गर्दै पूर्वराजदूत पुरीले पूर्वराजा र ओलीबीच राजसंस्था फर्काउने सहमति भएको हुन सक्ने पुरीको अनुमान छ।
