संसद विघटनविरुद्ध कांग्रेसको प्रदर्शनः देउवा नरम, पौडेल आक्रमक

संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएको भन्दै आज प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । प्रदर्शको क्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताए । संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले यो विषय अदालतमा विचाराधीन भएकाले आफ्नो इच्छा अनुसार वा विपरीत जे फैसला आएपछि स्वीकार गर्ने बताए ।

देउवाले भने, ‘यो मुद्दा अदालतमा छ । हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो ।’कांग्रेसले अदालतलाई धम्क्याएर, तर्साएर यो निर्णय गर् भनेर कहिल्यै नभनेको उनले बताए । साथै देउवाले अबको निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने पनि बताए ।



कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान मिचेको आरोप लगाएका छन् । संसद विघटनको विरोधमा  तनुहँमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले प्रतिनिधिसभा पनि पुनर्स्थापित नहुने र चुनाव पनि नहुने अवस्था आउन सक्ने बताए ।

कार्यक्रममा निकै आक्रमक रुपमा प्रस्तुत भएका पौडेलले भने, ‘सर्वोच्च अदालतका न्यायमूर्तिहरुलाई एउटै अनुरोध गर्न चाहन्छु, संविधानलाई राम्रोसँग पढिदिनुस् । संविधानको अक्षर, भावना र विधिदाताको मनसाय बुझ्नुस् ।’

संविधानको अक्षरमा प्रधानमन्त्रीले यसरी संसद विघटन गर्ने व्यवस्था नै नगरेको उनले बताए ।

सम्बन्धित समाचार