
नेपाली कांग्रेस नुवाकोटका सभापति एवं पूर्वसभासद् जगदीश्वरनरसिंह केसीले वैशाखमा चुनाव भएन भने केपी शर्मा ओलीलाई नेपाली जनताले सिंहदरबारबाट समातेर सडकमा फाल्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १, चौघडा बजारमा र क्षेत्र नं २ ले विदुरमा सोमबार आयोजित कार्यक्रममा सभापति केसीले वैशाखमा चुनाव हुनेमा शंका व्यक्त गर्दै चुनाव हुन नसके ओलीलाई नेपाली जनताले सडकमा ल्याएर पछार्ने बताएका हुन् ।
‘केपी ओलीजी, वैशाखमा चुनाव त घोषणा गर्यौ । चुनाव गर्न सक्छौं कि सक्दैनौ ? चुनाव नगर्ने षड्यन्त्र गरेर दुई–तीन वर्ष शासन सत्ता हातमा लिने नियतले मात्र चुनावको घोषणा गरेको हो र वैशाखसम्ममा चुनाव हुन सकेन भने नेपाली जनताले तिमीलाई सिंहदरबारबाट समातेर सडकमा ल्याएर फाल्ने छन् । त्यो दिन टाढा छैन’ केसीले भने । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा आयोजित विरोध प्रदर्शनमा नेता केसीले ओलीको कदमले संविधानमाथि उपहास भएको र संविधानलाई खड्ग ओलीको खड्गले काट्ने काम भएको पनि टिप्पणी गरे ।
ओलीले असंवैधानिक कदम चलाएको भन्दै उनले प्रश्न गरे ‘ओलीजी, यो देशलाई कुन ठाउँमा पुर्याउन चाहन्छौ ? के नेपालको संविधानलाई ध्वस्त गर्न चाहन्छौ ? नेपाली जनताको लोकतान्त्रिक अधिकार खोस्न चाहन्छौ ?’ उनले ओलीको निरंकुश सर्वसत्तावाद चरित्र देखिएको र उनले संविधानमाथि ‘कु’ गरेको पनि टिप्पणी गरे ।

विरोध सभामा बोल्ने क्रममा नेता केसीले ओलीको अलोकतान्त्रिक कदमको विरुद्धमा कांग्रेस उभिएको भन्दै लोकतन्त्र बहाली नभएसम्म आन्दोलन जारी रहने पनि घोषणा गरे । ‘केपी शर्मा ओलीले उनको खड्ग उनको पार्टीका नेता कार्यकर्तालाई प्रयोग गरुन्, हामीलाई टाउको दुखाइको विषय भएन तर नेपालको संविधानमाथि त्यो खड्ग प्रयोग गर्न पाइँदैन । त्यो खड्ग प्रहार गरेर संविधान हत्या गर्न खोजिएको छ । लोकतन्त्रको हत्या भनेको हामी सबैको हत्या हो । लोकतन्त्र बहाली नभएसम्म हाम्रो आन्दोलन गाउँ गाउँमा जारी रहन्छ’ केसीले भने ।

