नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस ।

संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले आज देशभर विरोध प्रदर्शन गर्दै छ । काठमाडौंको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने सो समूहले तयारी गरेको छ । बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुस शुरु हुने छन् । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस निस्कने बताइएको छ ।
यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा दैनिकजसो आन्दोलन हुँदै आएको छ । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी, नागरिक अगुवा, विद्यार्थी र युवाहरुले पनि विरोध प्रदर्शन गर्दै आएका छन् ।
प्रधानमन्त्री केपी ओली र प्रचण्ड-माधव दुवै समूहले आधिकारिक नेकपा आफूहरु रहेको दाबी गर्दै आएका छन् । संसद विघटनविरुद्ध परेका रिटहरुमा सर्वोच्चमा बहस चलिरहेको बेला निर्वाचन आयोग पनि नेकपाको आधिकारिकता विवाद टुंग्याउने तयारीमा छ ।
यसअघि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि संसद् विघटनको विरुद्ध देशभर प्रदर्शन गरसकेका छन् ।
