नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले आज राजधानीमा भव्य प्रदर्शन गरेको छ। राजधानीका विभिन्न १३ स्थानबाट नेकपाका नेता तथा कार्यकर्ताहरुले जुलुस निकालेका थिए। जुलुस शहर परिक्रमा गरेर भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ।
विरोध सभालाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । उनले पार्टीलाई भर्याङ मात्र बनाएको भन्दै खनालले भने, ‘पार्टीका नीति बिर्सनुभयो, एकलौटी ढंगले मन्त्रिपरिषद् बनाउनुभयो, नीति कार्यक्रम ल्याउनुभयो ।’
‘कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?’ उनले अघि भने ।
काम गर्न नसकेको भनेर आफूहरुले प्रश्न गर्दा प्रधानमन्त्री ओलीले विश्व चकित हुने काम गरेको दाबी गरेको सुनाए । ओलीले सडक र पुललाई समाजवाद देखेको र पछिल्लो समय त मैले रानी पोखरी बनाएँ भन्न थालेको उनले बताए ।
