नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले हालै एक विज्ञप्ति प्रकाशन गरी मुलुकमा विकसित पछिल्लो राजनैतिक घटनाप्रति त्रिवि प्राध्यापक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘प्राज्ञिक वर्ग जहिले पनि राजनैतिक स्थिरताको पक्षमा रहेको र प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार र मौलिक हकका लागि विगतमा भएका धेरै आन्दोलनहरूमा सक्रियताका साथ भाग लिएको वर्ग हो’ विज्ञप्तिमा भनिएको छ ।
संघका सभापति डा. वसन्त ढकाल र महासचिव केशवराज शर्माको हस्ताक्षर भएको विज्ञप्तिमा अगाडि भनिएको छ– ‘प्राध्यापक संघ मुलुकमा लोकतन्त्र र बहुलबादको संरक्षण र सम्बद्र्धनका लागि विभिन्न समयमा विभिन्न फोरमहरूमा बारम्बार सुझाव दिँदै आएको वर्ग भएकाले राजनैतिक स्थिरताले मात्र नीतिगत स्थिरता आउने, उच्च शिक्षाले गुणस्तर प्राप्त गर्ने, अर्थतन्त्रले गति लिन सक्ने जस्ता विश्वव्यापी यथार्थलाई कसैले पनि भुल्न नहुने कुरामा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको अडान रहेको छ । यही सम्बन्धमा हाल देखिएका राजनीतिक घटनाहरूमा लोकतन्त्रको मूल्य मान्यतामा अडिग रही संयम्ताका साथ जिम्मेवारीपूर्वक संविधानको कार्यान्वयनमा जोड दिन यस प्राध्यापक संघ सबै राजनीतिक दलसँग अनुरोध गर्दछ ।’
प्रधानमन्त्री खड्गप्रसाद ओलीले गत पौष ५ गते संसद भङ्ग गरेपछि मुलुकमा विकसित घटनाक्रमलाई ध्यानमा राखी त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको यो विज्ञप्ति आएको हो ।

