नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ पुस ।

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वागमती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएको छ। बुधबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले पौडेललाई दलको नेताबाट हटाई अष्टलक्ष्मी शाक्यलाई नयाँ नेता चयन गर्ने निर्णय अनुमोदन गरेको हो।
यसअघि संसदीय दलको यही पुस ९ गते बसेको बैठकले दलको नेताबाट पौडेललाई हटाइ शाक्यलाई नयाँ नेता सिफारिस गरेको थियो। सोही निर्णय बमोजिम १० गते मुख्यमन्त्रीविरुद्ध नेकपाका ४५ सांसदले अविश्वासको प्रस्ताव ल्याउँदै नयाँ मुख्यमन्त्रीमा शाक्यको नाम सिफारिस गरेका थिए।
आजको बैठकले सोही निर्णय अनुमोदन गरेको एक सांसदले जानकारी दिए। मंगलबार मुख्यमन्त्री पौडेलले संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र प्रमुख सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका थिए।
ती सांसदले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पास गर्न एक ढिक्का भएर अगाडि बढ्ने बैठकले निर्णय गरेको बताए।
