नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ पुस ।

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहालले छलछाम गरेर आफ्नै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएको बताएका छन्। बुधबार पर्साको वीरगन्जमा नेकपा ओली समूहको प्रदेश २ कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै नेता साहले असार महिनामा अलग प्रयोजनका लागि गरिएको हस्ताक्षरको दुरुपयोग गरी प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव ल्याएको बताए।
नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले देशमा स्थिरता देख्न नसक्ने प्रचण्ड–नेपालले कुर्सीको लालसामा बिनाकुनै कमिटीको निर्णय गरी छलछाम गरेर पार्टी र देशलाई बर्बाद गर्न उद्धत रहेको बताए।
‘तपाईंहरु देख्दै हुनुहुन्छ, आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याइयो। म सोध्न चाहन्छु कमरेड प्रचण्डलाई, तपाईंले कुन कमिटीको बैठकको निर्णयबाट अविश्वासको प्रस्ताव ल्याउनुभयो रु तपाईले संसदीय दलको बैठक कहिले बोलाउनुभयो प्रस्ताव ल्याउनका लागि ?,’ नेता साहले प्रश्न थप गरे, ‘असार महिनामा अर्कै प्रयोजनका लागि गराइएको हस्ताक्षरको प्रयोग गरी षड्यन्त्रपूर्ण रुपमै अविश्वास प्रस्ताव ल्याउने कम्युनिष्ट र क्रान्तिकारी नेता हुन सक्छ ररु म विचार गर्न साथीहरूलाई भन्न चाहन्छु। क्रान्तिकारी कस्ता हुन्छन्, प्रतिक्रान्तिकारी कस्ता हुन्छन्, अवसरवादी कस्ता हुन्छन् त्यो छुट्याउन सक्नुभयो भने पनि सबैकुरा छर्लङ्ग रूपमा बुझ्न सक्नुहुन्छ।’
