सभामुख सापकोटाविरुद्ध प्रधानमन्त्री ओलीले लगाए गम्भीर आरोप

प्रधानमन्त्री एवं नेकपा केपी ओलीले विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको भूमिकाप्रति रोष व्यक्त गरेका छन् । सभामुखले सरकारले संसद्मा लगेका प्रस्तावलाई निर्णयार्थ पेश नगरेर संसदीय अराजकता निम्त्याएको आरोप उनले लगाए ।

३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवालाई शुक्रवार भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् । ‘सरकारले संसद्मा पेश गरेको प्रस्ताव सभामुखले निर्णयार्थ पेश नगर्ने, योभन्दा अराजकता के हुन्छ ? हाम्रा कूटनीतिक सम्बन्धमा आशंका पैदा गर्ने र विकासका प्रयासमा बाधा पुर्‍याउने काम भयो । संसद्ले गर्नुपर्ने निर्णय सभामुखले रोकेर राखे यस प्रकारको अराजकता नेपालबाहेक अन्त कहीँ हुन्छ ?’ ओलीले भने ।



प्रधानमन्त्रीको संकेत अमेरिकी सहयोग परियोजना एमसीसीतर्फ थियो । सरकारले संसद्मा लगेको एमसीसी अनुमोदनसम्बन्धी प्रस्ताव तत्कालीन सभामुख कृष्णबहादुर महरा र हालका सभामुख अग्नि सापकोटा दुवैले रोकेर राखेका थिए । यसरी एमसीसी रोकिँदा अमेरिकासँगको सम्बन्धमा आशंका उत्पन्न भएको अर्थमा प्रधानमन्त्रीले आक्रोश व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा सभामुखले कीर्ते काम गरेको आरोप समेत लगाए ।

सम्बन्धित समाचार