नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ पुस ।

नेकपाको प्रचण्ड नेपाल समूहको विद्यार्थी संगठनले सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध अनेरास्ववियूले सडक आन्दोलनको घोषणा गरेको हो । सरकारका मन्त्रीलाई कालो झण्डा देखाउने, विरोध प्रदर्शन र कोणसभा देखाउने लगायतको कार्यक्रम विद्यार्थी संगठनले सार्वजनिक गरेको हो ।
पुस २१ गते सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन र सोही दिन विरोध प्रदर्शन र कोणसभा गर्ने कार्यक्रम घोषणा विद्यार्थीले गरेको छ । २२ गते लाल्टिन जुलुस, २३ गते पुत्ला दहन र २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र तथा धर्नाको कार्यक्रम राखिएको छ ।
२५ गते सडक वहस, २६ गते बयलगाडा प्रदर्शन, २७ गते सडक कविता गीत र गजल कार्यक्रम आयोजना गरिएको छ । २८ गते सडक नाटक र भित्ता लेखन र पौष २९ गते कार्टून प्रदर्शनको कार्यक्रम राखिएको छ । प्रतिनिधिसभा विघटनसँगै अनेरास्ववियूले यसअघि पहिलो चरणको सडक आन्दोलन घोषणा गरेको थियो । अनेरास्ववियूले शैक्षिक आन्दोलनको पनि घोषणा गरेको छ ।
गुमेको भूमि समावेश भएको पाठयक्रम राख्न दवाव दिने र कोरोनाका कारण अवरुद्ध परीक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरि ढंगले लिइएको शुल्क खारेज गर्नपनि आन्दोलन गर्ने अनेरास्ववियूले जानकारी दिएको छ ।
