निर्वाचनमा प्रचण्ड-माधव पक्षसँग सहकार्य हुनसक्छ: मन्त्री थापा

खानेपानी मन्त्री मणि थापाले नेकपा गम्भीर संकटमा पुगेपनि पार्टी विभाजन भइनसकेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोट जिल्ला भेलालाई सम्बोधन गर्न जाने क्रममा सुर्खेतमा मंगलबार पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले यस्तो बताएका हुन्।

‘नेकपा गम्भीर संकटमा फसेपनि विभाजन भइसकेको छैन, आगामी निर्वाचनसम्म पार्टीमा देखिएको संकट समाधान हुने सम्भावना कायमै छ,’ उनले भने, ‘समस्या समाधान गरी प्रचण्ड माधव पक्षसँग सहकार्य गरेर जान पनि सकिन्छ।’ नेकपा औपचारिक रुपले विभाजन भइनसकेकोले नेतारकार्यकर्ताको व्यवस्थापन हुन बाँकी रहेको उनले बताए। राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानुको विकल्प नभएको पनि उनले तर्क गरे।



उनले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाले मुलुकलाई पुनः स्थायित्व दिने बताएका छन्। ‘प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम अग्रगामी हो, कतिपय शक्तिले यसलाई प्रतिगामी भनेका छन्,’ उनले थपे, ‘राजनीति शास्त्रको सिद्धान्तअनुसार पनि सरकार वा प्रणाली संकटमा पर्दा चुनावमै जाने हो।’

पार्टीभित्रको विवादले प्रदेशसभा विघटन गर्ने कुनै सम्भावना नरहेको समेत उनले दावी गरे। ‘प्रदेश सरकार फेरबदल हुनेबारे कुनै प्रकारको छलफल भएको छैन, अहिले प्रदेशसभा वा प्रदेश सरकार विघटन गर्ने कुनै सम्भावना पनि छैन,’ उनले भने।

सम्बन्धित समाचार