
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधव कुमार नेपाल पक्षका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले जनता, पार्टी, लोकतन्त्रसँग गरेको सम्झौता विपरित संसद विघटन गरेकाले ओली सजायका भागिदार रहेको बताएका छन् ।प्रेस संगठनले बुधवार रुपन्देहीको तिलोत्तमामा गरेको अन्तर्क्रियामा बोल्दै नेता भुसालले संसद पुनर्स्थापना गरेर मात्र ओलीलाई सजाय दिन सकिने बताए ।
नेता भुसालले प्रधानमन्त्री ओलीलाई दण्डीत नगर्ने हो भने जनता र लोकतन्त्रसँग गरेको अनुबन्ध खारेज हुने बताउँदै जाती, भाषा, धर्म, वर्ग, लिङ्ग तथा सम्प्रदायसँगको बृहत अनुबन्ध खारेज हुने जिकीर गरे । नेता भुसालले ओली पक्षकै नेताहरुले प्रतिनिधिसभा विघटन ठीक हो भन्न नसकेको बताउँदै अर्के प्रसंग जोडेर संसद विघटनको पक्षमा बोल्ने गरेको बताए । ‘नाकाबन्दीमा ओलीले विरोध गरे त्यसैले संसद विघटन ठीक, गुमेको भुभाग समेटेर नक्सा बनाईयो त्यसैले संसद विघटन ठीक भनियो, तर संसद विघटनकै विषयमा ओली पक्षसँग ठीक भन्ने आधार छैन,’ भुसालले भने ।
प्रधानमन्त्री ओलीका कदम लोकतन्त्रको विरोधमा, समाजवादको विरोधमा र बामपन्थीको विरोधमा रहेको दावी गर्दै नेता भुसालले संसद विघटनको कदमलाई कुनै पनि कोणबाट सही हो भन्न नसकिने बताए ।
