डिभोर्सको तयारीमा किम र कान्ये

चर्चित मोडल किम कार्दसियन र गायक कान्ये वेस्टले डिभोर्स गर्ने भएका छन् । यस वर्ष यो जोडीको वैवाहिक जीवन निकै अशान्त थियो । पेज सिक्समा प्रकाशित समाचारअनुसार यो जोडी केही महिनादेखि अलग बस्दै आएको थियो । ‘डिभोर्स अवश्यम्भावी छ । उनीहरुले यसलाई कम चर्चामा राख्न चाहेका छन्, तर यो तय भइसकेको छ,’ एक भित्री स्रोतलाई उदृत गर्दै बेलायती पत्रिका द सनले लेखेको छ,‘किमले लाउरा वासेरलाई हायर गरिसकेकी छिन् र यो जोडी अहिले कसरी डिभोर्सको प्रक्रियालाई टुंगोमा पुर्याउने भनेर छलफलमा छ ।’

यसअघि सन् २०१३ मा किमले एनबिए स्टार क्रिस हम्फरिजसँग डिभोर्स गर्दा पनि अधिवक्ता लउराले नै कानूनी प्रक्रिया हेरेका थिए । उनले ठूला सेलिब्रेटीहरुको डिभोर्सको मामिला टुुग्याएर चर्चा कमाएका छन् । ब्राड पिट र एन्जेलिना जोलीको हाइप्रोफाइनल डिभोर्स पनि उनले नै हेरेका थिए ।



जब कान्ये मानसिक समस्यासँग जुध्न थाले तब किमसँगको उनको वैवाहिक सम्बन्धमा खटपट देखियो । किमलाई लागेको थियो कि यस्तो कठिन समयमा डिभोर्स गर्नु क्रुर हुनेछ, उनीहरुले आफ्नो वैवाहिक सम्बन्धका कठिनाईबारे परामर्श लिन थालेका थिए । किमले वैवाहिक सम्बन्ध बचाउन प्रयास पनि गरेको समाचारमा उल्लेख छ । केही समय उनीहरुबीचको समस्यालाई थाँती राखियो, यद्यपी क्रिसमसपछि सम्बन्ध–विच्छेदका लागि किमले अधिवक्ता हायर गरेकी छिन् । किम र केनबीच मेइ २०१४ मा भव्य विवाह भएको थियो ।

उनीहरु लामो समयदेखिका साथी थिए । विश्वव्यापी चर्चामा आउनुअघि किमले सन् २००० देखि २००४ सम्म डामोन थोमससँग पनि बिहे गरेकी छिन् । यसरी किमको यो तेस्रो विवाह हो भने कान्येको पहिलो । यो जोडीका दुई छोरी र दुई छोरा छन् । रियालिटी स्टार किमले पछिल्लो समय १३ लाख डलर पर्ने इन्गेजमेन्ट रिङ पनि लगाएको देखिएको छैन । यो रिङ कान्येले नै उपहर दिएका थिए । किम अहिले आफ्ना छोराछोरीसँग लस एन्जलसमा बस्छिन् ।

सम्बन्धित समाचार