
नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनित गरेकोमा राष्ट्रपति र प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्। विहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले भने‘आज म खुसी हुनु पर्ने हो तर छैन ।’ गौतमले गणतन्त्र नेपालको स्थापना र नेपालका सबै कम्युनिष्टलाई एकीकृत गर्ने दुइटा उद्देश्य रहेको पनि बताए। गणतन्त्र पूरा भए पनि सबै कम्युनिष्ट एक भइनसकेको उनको भनाइ छ। एमाले र माओवादी मिल्दा कम्युनिष्ट एक भएको भन्दै आफू खुसी भएको पनि उनले बताएका छन्।
गौतमले प्रधानमन्त्री केपी ओलीले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको पनि बताए । पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनको तर्क छ ।
गौतमले अविश्वासको प्रस्ताव लैजाने बेला आफूलाई नसोधिएको गुनासो गरे । यसअघि प्रधानमन्त्रीको आलोचना गर्ने गुटमा बसेर आफूले अविश्वासको प्रस्ताव असफल पारेको स्मरण गर्दै उनले भने, यसपटक अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन ।’
आफू प्रधानमन्त्रीको कटु आलोचकसँगै मित्र पनि भएको भन्दै उनले प्रतिनिधिसभा भंग गर्दा आफूलाई नसोधिएको गुनासो गरे । उनले भने, ‘उहाँले पटकपटक भन्ने गर्नु भएको थियो, अविश्वासको प्रस्तावबाट मलाई बर्खास्त गर्ने काम गर्नुभयो भने दुर्भाग्यपूर्ण हुनेछ ।’
पार्टीमा अल्पमतमा परेपछि राजीनामा दिनुपर्नेमा प्रधानमन्त्रीले संसद भंग गरेको उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीसामू पार्टी एकता जोगाउने अन्तिम पटक अवसर थियो ।’ उनले अघि भने, म भएको भए राजीनामा दिन्थेँ । मेहनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो ।’
