नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ पुस ।
अमेरिकी संसद्ले जो बाइडन निर्वाचनमा विजयी भएको प्रमाणित गरेलगत्तै राष्ट्रपति डोनल्ड ट्रम्पले हार स्वीकार गरेका छन् । जनवरी २० मा शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण गरिने पनि उनले बताएका छन् ।
गत नोभेम्बर महिनामा भएको चुनावमा लोकप्रिय तथा इलेक्टोरल कलेज भोट दुवैमा पराजित भएका ट्रम्पले हार स्वीकार गर्न मानिरहेका थिएनन् । आफूलाई धाँधली गरेर हराइएको र बाइडनलाई राष्ट्रपति बन्न नदिने भनी उनले निरन्तर बयान दिइरहेका थिए । नियमित प्रक्रियाका रूपमा संसद्ले गर्ने प्रमाणीकरण ट्रम्प समर्थकहरूको उपद्रोका कारण केही घन्टा बिथोलिएको थियो ।
दुवै सदनले बाइडनको इलेक्टोरल कलेज विजयलाई बिहीवार प्रमाणीकरण गरेका हुन् । ट्रम्प समर्थकहरूले हिंसा मच्चाएको ६ घन्टापछि सदन पुनः सञ्चालन गरिएको थियो ।
रिपब्लिकन पार्टीका १३ जना सिनेटर र तल्लो सदनका कैयौं सांसदले ६ वटा राज्यका मतपरिणामका विषयमा बहस गराउन खोजेका थिए । तर ट्रम्प समर्थकहरूको ताण्डवपछि रिपब्लिकनहरूले बाइडनको विजयलाई उल्ट्याउने प्रयास त्यागे । एरिजोना र पेन्सिल्भेनियाको मतपरिणामलाई मात्र चुनौती दिइएको थियो । ती प्रयासलाई सदनले बेइज्जतीपूर्ण तरिकाले पराजित गरिदियो ।
बाइडनले ३०६ अनि ट्रम्पले २३२ इलेक्टोरल भोट ल्याएका थिए । जनवरी २० मा बाइडनलाई राष्ट्पति पदको शपथ दिलाइनेछ ।