एलपी पौड्याल
काठमाडौं, २५ पुस ।
स्थान : तराईको कुनै जिल्लाको ग्रामीण क्षेत्रमा रहेको तुलसीरामको घर ।
लामो समयपछि आज तुलसीरामका घरमा धेरै मानिसहरूको चहलपहल देखिन्छ । तुलसीरामको टाँडे घरको भुइँतलाको बाहिरपट्टिको पिँडीमा रहेको ठूलो खाटमा गाउँका विशेष गन्यमान्य व्यक्तिहरू तथा भुइँमा ओछ्याइएको गुन्द्रीमा अन्य सर्वसाधारणहरू बसेका छन् । गाउँभरिका ठूलाठालु, भद्र–भलाद्मी कहलाइने व्यक्तिहरूको त्यस जमघटमा तुलसीरामकी विधवा केही पर एउटा कुनामा बसेकी छ । कामकाजी कपडा र नकोरिएको कपालमा पनि उसको सौन्दर्यको आभा भने छोपिएको छैन । ऊ कुनै अभियुक्ताले झैं टाउको केही झुकाएर भुइँतिर हेरिरहेकी छ । पञ्चभलादमीका बीचमा तुलसीरामको ठूलो छोरो गोपाल, जो अन्दाजी १२–१३ वर्षको जस्तो देखिन्छ, कालोमुख लगाएर बसेको छ । केही पर एउटा काठको पिरामा तुलसीरामका घरको नोकर रतन मुसहर बसेको छ । ऊ पनि कुनै अपराधी झैं डराएको अवस्थामा केही झुकेर बसेको छ । त्यहाँ उपस्थित बाँकी सबैको अनुहार भने कुनै नयाँ कुरा जान्न वा सुन्नलाई उत्सुक देखिन्छ मानौ केही क्षणपश्चात् त्यहाँ कुनै अद्भूत रहस्यको उद्घाटन हुनेवाला छ ।
वैशाख–जेठको महिना भए पनि बाहिरी वातावरण केही धुम्मिएको जस्तो देखिएको छ । आकाशमा कतै कतै कालो बादलका टुक्राहरू देखिन्छन् ।
“ल भन बुहारी, तिमी र रतनेबीच गाउँमा चलेको हल्ला के हो ? रतने पनि यहीँ छ । जे सत्य हो, त्यो यहाँ उपस्थित पञ्चभलाद्मीका सामु भन” अन्ततः शङ्कर पण्डितले मुख फोरे ।
शङ्कर पण्डित गाउँमा सबैबाट मानिएका साझा व्यक्तित्व हुन् । करिब ६०–६२ वर्ष पुगेका पण्डित स्पस्ट वक्ता र त्यस गाउँ–समाजका सन्तुलित न्यायकर्ता पनि हुन् । गाउँघरमा आइपरेका हरेक समस्यालाई अरूको तुलनामा बढी तटस्थ भएर हेर्ने र स्व–विवेकका आधारमा त्यस विषयको समाधान गरिदिने तथा धर्म–कर्ममा पनि विशेष दख्खल भएकाले कुनै पनि सामाजिक समस्याको समाधानमा उनको उपस्थिति अनिवार्य जस्तै हुन्थ्यो । उनले बोलेका कुरामा कमै शङ्का गरिन्थ्यो र उनले दिएको निर्णय अन्तिमजस्तै हुन्थ्यो । तुलसीराम जीवित हुँदा उनी शङ्कर पण्डितलाई आफ्नो दाजुजस्तै मान्थे त्यसैले शङ्कर पण्डित तुलसीरामकी श्रीमती रामप्यारीलाई बुहारी भनेर सम्बोधन गर्ने गर्थे । तुलसीरामको असामयिक निधन भएकाले तुलसीरामका घरमा आज नयाँ विध्न आइपरेको छ । यस्ता विषयहरूले गाउँघरमा सर्वाधिक महत्व पाउने गर्दछन् ।
रामप्यारी तुलसीरामकी विधवा हो । १४–१५ वर्ष अगाडि तुलसीरामसँग उसको वैवाहिकसम्बन्ध कायम भएपछि ऊ निरन्तर रूपमा त्यही घरमा बस्तै आएकी छ । करिब ३ वर्ष अगाडि तुलसीरामको असामहिक निधन भएपछि ऊ असहायजस्तै बनेकी हो । उसले १० कक्षासम्म पढेकी पनि थिई । एसएलसी परीक्षा दिनु पूर्व नै तुलसीरामसँग उसको विवाह भएकाले उसको अध्ययन त्यत्तिमा नै सीमित बन्न गयो, तर पनि रामप्यारी आफ्नो घर–व्यवहार चलाउन सक्षम नै थिई । तुलसीरामको असामहिक निधनपछि धेरैले उसलाई अर्को बिहे गर्न सल्लाह पनि दिएका हुन् तर छोराछोरीको मुख हेरेर रामप्यारीले त्यस्तो कदम चालिन, बरू तुलसीरामको सिङ्गो व्यवहार थामेर बसी । आज उसैलाई समाजले यौन–दुराचारको आरोप लगाएको छ । उसले त्यसको प्रतिवाद गरिरहेकी छैन बरू ऊ ज–जसले जे भने पनि सुनिरहेकी मात्र छ ।
पण्डितको प्रश्नले तुलसीरामकी विधवा रामप्यारीलाई केही प्रभाव परेन वा परे पनि नपरे झैं गरी घोसे मुन्टो लगाएर बसिरही ।
“जे जे भएको हो त्यो सत्य कुरा समाजका अगाडि राख्नु प-यो गोपालकी आमा, तिमीले नबोलेर भएन ।” तुलसीरामका छिमेकी रमाकान्तले कुरा राखे “आगो नबली धुवाँ आउँदैन भन्छन्, फेरि गाउँमा चर्चाको विषय बनेपछि छलफल त गर्ने प-यो नि ! यो त समाजको धर्म नै हो ।”
फेरि पनि रामप्यारीले केही जवाफ दिइन । ऊ पूर्ववत् घोसे मुन्टो लगाएर बसिरही ।
“ए रतने ! तँ आपैm भन, कुरा के हो ? यस विषयमा तेरो भन्नु के छ ?” शङ्कर पण्डितले रतनतिर फर्केर प्रश्न राखे ।
“म त के भन्नुु र हुजूर, मालिक्नीलाई नै भन्नु दिनोस्, ऊ जे भन्छ म त्यही मानिहाल्छु ।” समाजका अगाडि केही डराएजस्तो गरी रतनेले आरोप स्वीकार गरेझैँ जवाफ दियो । रतनतिर फर्केर अरूले त्योभन्दा बढी प्रश्न गर्न चाहेनन्; मानौं समाजलाई रतनको त्यही जवाफको प्रतीक्षा थियो र पर्याप्त पनि थियो ।
“ल भन बुहारी, यस विषयमा तिम्रो भनाइ के छ ? तिम्रो मुखबाटै वास्तविकता बुझ्न आजको यो समाज भेला भएको हो । हो भन हो भन, होइन भने होइन भन, तर समाजलाई चित्त बुझ्दो जवाफ चाहियो ।” रतनेको जवाफ सुनिसकेपछि शङ्कर पण्डितले रामप्यारीतिर फर्केर केही कडा स्वरमा भने ।
“हुन त किन नहुनु नि । कतिपल्ट मेरै आँखाले रतनेसँग मकैबारीमा घाँस काट्ने निहुँले………” पल्लाघरको चित्रेले प्रत्यक्षदर्शी भएको प्रमाण दियोे ।
सबैले एक मुख लागेर रामप्यारीमाथि खनिए । अब रामप्यारीले मुख नखोली धर पाइन । लाचार भएर भनी “सबैले हो नै भन्नुहुन्छ भने हो नै …. ।”
“छ्या ! छ्या ! छ्या ! ए गोपालकी आमा ! चार–चारवोटा छोराछोरीकी आमा भएर आफ्नै घरको नोकरसँग सुतेँ भन्न समाजका अगाडि लाज लाग्दैन ? गाउँ, समाज, छोराछोरी तथा भगवान कसैको डर लागेन तिमीलाई ? हैन यो कलियुगमा केके देख्नु र सुृन्नु पर्छ हँ ?” धेरै जनाले एकैचोटी छोप्न खोजे ।
“त्यसो भए रतनेसँग तिम्रो लसपस भएकै हो त ?” शङ्कर पण्डितले स्थितिलाई अझ स्पस्ट पार्न खोजे ।
रामप्यारीले नबोली टाउको हल्लाएर “हो” भन्ने सङ्केत दिई ।
आफ्नी आमा र रतने नोकरबीचको सम्बन्धको कुरा र गाउँ समाजले आफ्नी आमालाई अपराधी घोषित गराउने गरेको प्रयत्न सुन्न नसकेर भलाद्मीहरूका बीचमा बसेको तुलसीरामको छोरो गोपालले तप्तप् आँसु खसाल्यो । अरू केटाकेटी घरभित्रैबाट बाहिरका कुरा सुनेर आँसु झार्दै थिए । सबभन्दा सानी छोरी जो हेर्दा अन्दाजी ४–५ बर्षकी जस्ती देखिन्थी, कहिले घरभित्र कहिले बाहिर गर्दै थिई, उसलाई यस भिन्न परिस्थितिका बारे केही ज्ञान थिएन ।
समाजका सबैजसो मान्छे रामप्यारीलाई चारित्रिक अभियोग लगाएर गिराउन र गाउँबाटै धपाउन चाहन्थे । समाजको यस्तो भावनाविपरीत निर्णय दिनु शङ्कर पण्डितले आफ्नो पनि कल्याण देखेनन्, तैपनि रामप्यारीलाई पनि ठाडो अन्याय गरेको आरोप नलागोस् र समाजका अगाडि आफूलाई निर्णय दिन पनि सजिलो होस् भन्ने सोचेर उनले एक झिनो प्रयास गरिहेरे– “मलाई अभैm तिम्रो कुरामा विश्वास त लाग्या छैन गोपालकी आमा । यत्रो छोराछोरीकी आमा भएर, यत्रो व्यवहार चलाएर बसेकी तिमी कसरी आफैँले राखेको नोकरसँग सुत्यौ होला ? हल्ला मात्र हो भने भनिद्यौ ‘होइन’ भनेर, अझैं केही बिग्रिहालेको छैन । होइन भने समाजले एउटा निर्णय गर्नै पर्ने हुन्छ । समाजले गरेको निर्णयलाई सबैले मान्छन् र तिमीले पनि मान्नु पर्छ ।”
“चित्रेले आफ्नो आँखाले रतनेसँग सल्केको पटक–पटक देखिसकेपछि अब सोध्न र भन्न के नै बाँकी रह्यो र ? त्यही रतनेका अघि लगाएर डाँडो कटाए त कुरै सकियो नि ! यस्ता कुलङ्घिनीलाई गाउँ समाजमा राख्नु हुँदैन । बोराको एउटा आलु बिग्रियो भने सबैलाई कुहाइदिन्छ भन्छन्, त्यसैले त्यस कुुहिएको आलुलाई बोराबाट फ्याँकिदिनुृ नै बुद्धिमानी ठहर्छ । यो नै सामाजिक न्याय पनि हो । भाउजू भनेर के गर्नु ? बाटो बिराएपछि । यस्तालाई एकछिन बढी गाउँमा बस्न दिनु भनेको गाउँलाई अझ बिगार्नु मात्र हो । पण्डितजी ! आफ्नो निर्णय दिन किन डराउनु भएको ? कुरा चबाएर बोल्नु राम्रो होइन ।” रामप्यारीका आफ्नै देवर वासुदेवले रातो–पिरो भएर शङ्कर पण्डितलाई नै चुनौती दिने भाषामा थर्कायो ।
हिजोसम्म रामप्यारीले हरेक कुरामा सहयोग पु-याउँदै आएकी आफ्नै देवर वासुदेवको शब्दवाणले उसको हृदयमा गहिरो चोट पु-यायो । नभिज्नु भिजेपछि अब जाबो एक छिटा पानीसँग डराएर किन भाग्ने ? समाज भनेको यस्तै रहेछ, समय अलिकति प्रतिकूल हुनासाथ कसैलाई बाँकी नराख्ने । रामप्यारीले त्यहाँ उपस्थित समाजको मानसिकता बुझिसकेपछि सोची– अब उसले मात्र किन मौनता धारण गर्ने ? उसको धैर्यताको बाँध टुट्यो ।
रामप्यारीले निहुराइराखेको टाउको उठाई । एक टीठ लाग्दो नजरले सबैलाई नियाली र केही कठोर स्वरमा बोली “पण्डितजी, यो पुरुषप्रधान समाजमा पुरुषले चाहिँ जे गरे पनि हुने तर महिलाले चाहिँ सधैँ घुम्टोले टाउको छोपेर मात्र बाँच्नु पर्ने कस्तो बाध्यता हो ? तपाई घरभरि छोराछोरी, नातिनातिनाहरू भएर पनि यस उमेरमा खुलेआम अर्को बिहे गर्न केटी खोज्दै हिड्न हुने तर तपाईकी छोरी नातिनीले पर्दापछाडि सामाजिक मर्यादालाई पालना गर्दै आफ्नो प्यास मेट्ने कुनै चेष्टा गरिछ भने ऊ चाहिँ कुलङ्घिनी हुने ? तपाईलाई ६० वर्षको वयमा लाग्ने भोक–प्यास तपाईका छोरी–नातिनीलाई २२–२५ वर्षको उमेरमा लाग्न पाउने कि नपाउने ? घरमा श्रीमती छँदाछदै बिरामी भएको बाहनामा हाम्रा रमाकान्त दाइले झण्डै अर्की स्वास्नी भित्र्याउनु भएको । छोराहरूले नरोकेको भए रमाकान्त दाइ अहिले दुईवटी स्वास्नीको धनी भइसक्नु हुन्थ्यो । किन ? त्यही शारीरिक प्यास मेट्न होइन ? हाम्रा वासुदेव नानीले बाटो हिड्ने अर्काका छोरी–बुहारीलाई जिस्क्याएर दिनहूँजस्तो कुटाइ खानु हुन्थ्यो । भर्खरै मात्र पल्लोगाउँकी लाहुरेकी छोरीलाई जिस्कयाउँदा उसले हानेको चप्पलको डाम अझैं गालामा ताजै होला । उही लाछी आज गाउँ सपार्न मलाई डाँडो कटाउन पण्डितजीलाई चुनौती दिने ? ल भन्नोस् पण्डितजी, तपाईहरूको समाजका एक–एक कमजोरीहरू भन्दै जाऊँ ? तपाईहरू को कति पानीमा हुनुहुन्छ भनेर म आज यसै समाजमा औँल्याइदिऊँ ? म केही क्षण नबोल्दैमा तपाईहरूले मलाई कमजोर र असहाय ठान्नु भएको हो ?”
ऊ भन्दै गई “म तपाईहरूको सामाजिक न्यायको प्रतीक्षा गर्दै थिएँ, यस समाजको न्याय पद्दतिलाई नियाल्दै थिएँ । तपाईहरूको मत्स्य–न्याय त मैले देखेँ, अब सक्नुहुन्छ भने मेरा प्रश्नको सही उत्तर दिनोस् ।” ऊ अझै कड्केर बोली “जुन भोक–तिर्खा पुरुषहरूलाई लाग्छ त्यो भोक–तिर्खा महिलालाई चाहिँ लाग्छ कि लाग्दैन ? जुन कार्य पुरुषहरूले सगर्व र खुलेआम गर्नु हुन्छ, त्यही कार्य महिलाले लुकेर, छिपेर अनि घर–समाजको मर्यादालाई बचाएर गर्न हुन्छ कि हुँदैन ? लुुकाएको र छोपेको चिज खोलेर हेर्दा जे पनि देखिन सक्छ, त्यसैले त्यस्ता कुरामाथिको पर्दा उघार्नु अघि त्यसको परिणामका बारेमा सोच्नु तपाईहरूको बुद्धिमानी हुन्थ्यो । तर तपाईहरू त यस विषयमा अलिकति पनि गम्भीर हुनु भएन । किन ?
किनभने तपाईहरूलाई लाग्यो यो समस्या त एउटी रामप्यारीको मात्र समस्या हो, अन्यत्र कहीँ कतै यो समस्या छँदैछैन र यहाँ उपस्थित तपाईहरू त झन गङ्गा जलभन्दा पवित्र हुनुहुन्छ ! म एउटी अबला नारी तपाईहरूलाई खुल्ला चुनौती दिन्छु्, एउटाले मात्र यही समाजमा उभिएर ‘म निष्कलङ्क छु’ भनेर भन्ने हिम्मत गर्नोस्, तपाईहरूले तोकेको कुनै पनि सजाय भोग्न म तयार छु । म एउटी विधवा–नारी तपाईहरूजस्तो शक्तिशाली पुरुषहरूलाई चुनौतीको स्वरमा भन्दैछु…मलाई सामाजिक रूपमा बहिस्कार गरी डाँडो कटाउने हो भने एउटाले मात्र आफू निष्कलङ्क भएको प्रमाण दिनोस्, म यो समाजले उचित ठहर गरेको सजाय मान्न राजी छु । पण्डितजी, रमाकान्त दाइ, चित्रे, वासुदेव वा अरू को उठ्ने ?”
रामप्यारीले राताराता आँखा पारेर चारैतिर हेरी । केहीक्षण अघिसम्म रामप्यारीका अगाडि केके बहादुरी देखाउँला जस्तो गरेर बसेका भलाद्मीहरूको सात्तोपुत्लो उडेको जस्तो देखिन्थ्यो । शङ्कर पण्डित त झन् काला–नीला भइसकेका थिए । रामप्यारी यसरी रणचण्डी होली, यति बुद्धिमानी ढङ्गले बोल्ली भनेर त्यहाँ उपस्थित कसैले सोचेकासम्म थिएनन् । रमाकान्त, चित्रे, वासुदेव लगायतका व्यक्तिहरू निस्तेज भैसकेका थिए । रामप्यारीको बोलाइमा सामाजिक यथार्थता थियो, त्यसैले कसैले पनि उसको प्रतिवाद गर्न सकिरहेका थिएनन् ।
रामप्यारी अगाडि भन्दै गई “मेरा श्रीमान् खस्ता सानी छोरी काखमा थिई । यस्ता साना साना लालाबालालाई मैलै कसरी हुर्काएँ, कसरी बढाए, कसरी पढाउँदैछु, तपाईहरू कसैलाई त्यतापट्टि चिन्ता र चासो लागेन । दुःखका ती दिनहरूमा मैले खाएर काम गरें कि नखाई–नखाई पनि काममा जुटेँ, तपाईहरू कसैको ध्यान गएन । किन त्यतिबेला तपाईहरू कोही आएर मेरो अवस्थाका बारेमा एक शब्द सोध्नु भएन ? किन मेरो आराम–बिरामका बारेमा सोध्नु भएन ? के त्यो चाहिँ सामाजिक समस्या थिएन ? त्यतिबेला तपाईहरू कहाँ जानु भएको थियो अथवा तपाईहरूको यो समाज कहाँ गएको थियो ? रतनेसँग मकैबारीमा घाँस काट्ने निउँले शारीरिक सम्पर्क राखेको देख्ने चित्रेका आँखाले कमलपित्त भएर म महिनौँसम्म सुतेको बेला मेरा छोराछोरी भोकभोकै भएको किन देखेन ? किनकि त्यो तपाईहरूको रूचि र चासोको विषय थिएन ।” रामप्यारी बोल्दै गई “म यस गाउँमा आएकी पनि थुप्रो भयो, मैले पनि यहाँका थुप्रैलाई चिनेकी छु, जानेकी छु । कर्ण जन्माई खोलामा बगाएर आफू पवित्र बन्ने तपाईहरूका छोरी, बुहारी र श्रीमतीलाई पनि चिनेकी छु तर मैले तपाईहरूको जस्तो समाज राख्तै हिँडिनँ । मैले यस्ता कुराका पछि लाग्दै हिड्नु राम्रो मानिनँ । आफ्ना घरमा भएका यत्रो ठूला–ठूला घटना नदेख्ने मोतीबिन्दु भएका तपाईहरूका आँखाले अर्काको बारीमा मकैका पात हल्लिएको देखे । सायद यस्ता असल र दूरदृष्टि भएको समाज पाउनु मेरो पनि भाग्यकै कुरा होला । कसो पण्डितजी ?”
रामप्यारीको अन्तिम वाक्यले भलाद्मीका रूपमा उपस्थित वृद्ध हरिनारायण बाजेको मन दुखेछ । उनले लघ्रो तानेर भने “हैन ए गोपालकी आमा ! एउटाले गल्ती ग-यो भनेर पुरै गाउँलाई नै दोष किन दिन्छ्यौ हँ ? आफ्नो दोष लुकाउन गाउँ–समाजलाई नै दोषी देखाउन मिल्छ ? त्यसो भए के तिमीले जे काम ग-यौ, ठीकै गरेकी हौ त ? सबै छोरी बुहारीले तिमीले झैं गर्दै हिड्ने हो भने भोलि यो समाजको अवस्था के होला ?”
“ठीक बेठीक छुट्याउँने काम तपाईहरूको हो बाजे । मैले यति मात्र भनेकी हुँ बिरालोलाई भाग्ने ठाउँ दिएर मात्र खेदाउनु पर्छ, नत्र उसले आँखा फोर्न सक्छ । धेरैबेर चुपचाप् म तपाईहरूका कुरा सुन्दै गएँ तर तपाईहरूले मलाई बोल्न बाध्य गराउनु भयो । एउटी असहाय नारीलाई जे भने पनि हुने, जे गरे पनि हुने भन्ने तपाईहरूको गलत सोचाइले गर्दा मलाई बोल्न कर लाग्यो । तपाई लोग्नेमान्छेहरूले घरमा मस्त–जवान स्वास्नी हुृँदाहुँदै १० ठाउँमा चोरेर खाए त्यो ‘प्रसाद’ हुने तर एउटी जवान विधवाले आफ्नो शारीरिक तृष्णा मेट्न समाजको मर्यादालाई बचाएर कुनैे प्रयत्न गरिछ नै भने ऊ चाहिँ कुलङ्घिनी हुने ? स्वास्नी मरेको तेह्र दिन नपुगी लोग्नेमान्छेले अर्की स्वास्नी ल्याएर आफ्नो शारीरिक तृष्णा मेट्नु सामाजिक रूपमा वैध मान्ने तपाईको समाजले विधवालाई चाहिँ के वैध–विकल्प दिएको छ ? विधवा मान्छे हो कि होइन ? उसलाई लोग्नेमान्छेलाई लाग्ने भोक–तिर्खा लाग्छ कि लाग्दैन ? कि विधवा हुनु नारीको अपराध हो र उसले सजायँस्वरूप जीवनभर आफ्ना सम्पूर्ण ईच्छा, आकाङ्क्षा र रहरलाई मारेर बाँच्नु पर्छ ? ठीक छ, मैले समाजका लागि अक्षम्य अपराध गरेकी भए दण्ड भोग्न तयार छु तर समाजले पचाउन सक्ने विकल्पसहितको निर्णय दिनोस् ।”
अब भने समाजको पुरै मुख–बुझो लागिसकेको थियो । रामप्यारीका तर्कका अगाडि अरूका तर्क र आरोपहरू निस्तेज भैसकेका थिए । अब रामप्यारीले क–कसका बारेमा केके बक्ने हो र अनाहकमा समाजका अगाडि आफू नाङ्गिनुृ पर्ने हो भनेर सबै डराउन थाले । त्यसैले सबै अब कसरी रामप्यारीको आक्रमणबाट बँचेर भाग्ने भनेर दाउ हेर्न थाले । शङ्कर पण्डितले एक आपसमा खासखुस गरेर ‘यस विषयमा फेरि कुनै दिन सोचौँला अहिलेलाई उठौँ’ भनेर उठ्न मात्र के लागेका थिए, रामप्यारी पुनः जाइलागी “हैन तपाईहरू मलाई सजाय नसुनाई कहाँ जान लाग्नु भएको ? यो समस्या मेरो एक्लो समस्या नठान्नोस् । भोलि प्रत्येक घरमा यो समस्या दोहोरिन सक्छ, त्यसैले एउटा सही निर्णय गरेर मात्र जानोस् । बस्नोस्, सुनाउनुहोस् आफ्नो फैसला । किन लाछी भएर भाग्नु हुन्छ ? म तपाईहरूको फैसला मान्न तयार छु, सक्नुहुन्छ भने कटाउनुहोस् मलाई डाँडो…..”
रामप्यारी चिच्याई–चिच्याई समाजलाई आफ्नो फैसला सुनाएर मात्र जान भनिरही तर चुपचाप एक एक गर्दै सबै भलाद्मीहरू उठेर आ–आफ्नो बाटो लागे ।
घरबाहिरको आकाश केही खुलेको जस्तो भान भयो । कालो बादलका टुक्राहरूलाई हावाले अर्कै दिशातिर किनारा लगाउँदै गरेको देखियो ।