नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ पुस ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको युवा संघले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। युवा संघ वागमती प्रदेश कमिटीको आयोजनामा काठमाडौका विभिन्न चार ठाउँबाट र्याली निकाल्ने कार्यक्रम छ। सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौं निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ को र्याली नयाँ बानेश्वरबाट शुरु हुने युवा संघले जनाएको छ।
ललितपुर निर्वाचन क्षेत्र नम्बर १, २ र ३ को र्याली पुल्चोकबाट, मकवानपुर, चितवन, धादिङ, काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८, ९ र १० को त्रिपुरेश्वर र रसुवा, नुवकोटा, काठमाडौं क्षेत्र नम्बर ५, ६ र ७ को र्याली लैनचौरबाट शुरु हुनेछ।
सबै र्याली नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पुगेर सभामा परिणत हुने जनाइएको छ। भेलालाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। ताजा जनादेशका लागि सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनको स्वागतमा कार्यक्रम आयोजना गरेको राष्ट्रिय युवा संघ वागमती प्रदेश कमिटीले जनाएको छ।
