राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेकी छन्। राष्ट्रपतिले आइतबार राष्ट्रियसभा अध्यक्षलाई पत्र पठाउँदै आइतबार राति १२ बजे देखि अधिवेशन अन्त्य भएको जानकारी गराएकी हुन्।

पत्रमा उल्लेख छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७७/९/२६ को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन संवत् २०७७ साल पुस २६ गते आइतबारका दिन राति १२ बजेदेखि अन्त्य गरेको छु।’



प्रतिनिधिसभा विघटन भएकाले राष्ट्रियसभा विजनेशविहीन अवस्थामा थियो । पछिल्ला बैठकमा सांसदहरुले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा चर्को आलोचना गर्दै आएका थिए । हिउँदे अधिवेशनमा जम्मा चारवटा बैठक बसेका छन् । संविधान अनुसार राष्ट्रियसभाको बैठक ६ महिनाभित्र बोलाउनुपर्ने हुन्छ ।

सम्बन्धित समाचार