नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ पुस ।

राष्ट्रिय सभा सदस्य तथा नेकपा प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएकोमा आफ्नो विरोध रहेको बताएका छन् । आइतवार अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै राष्ट्रिय सभाको अधिवेशनको छिटै अन्त्य हुनु राम्रो नभएको बताएका हुन् ।
‘प्रधानमन्त्री ओलीद्वारा प्रतिनिधि सभाको असंवैधानिक विघटन गरिएको अवस्थामा राष्ट्रिय सभा जनताको अवाजलाई प्रतिनिधित्व गर्ने संसदको थलो थियो,’ प्रवक्ता श्रेष्ठले भने, ‘अचानक अन्त्य गर्ने काम गरियो, यसप्रति हाम्रो विरोध छ ।’ श्रेष्ठले ओलीले संसद भंग गर्ने प्रतिगामी कदम चालेकाले आजको राष्ट्रिय सभाको बैठक आफूहरूले बहिष्कार गरेको बताए ।
‘ओलीले संसद भंग गर्ने असंवैधानिक कदम चालिसकेपछि उनको सम्बोधनलाई अस्वीकार गर्ने कदमका लागि आज अधिवेशनको बैठकमा सहभागी नभएका हौँ,’ श्रेष्ठले भने । आज बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।
सरकारले आजै राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको थियो ।
