नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुस ।

मधेसी जनतालाई केपी ओलीले नभई प्रचण्डले धोका दिएको नेपाल कम्युनिष्ट पार्टीका नेता एवं सहरी विकास मन्त्री प्रभु साहले बताएका छन्। सोमबार नेकपा बारा जिल्ला कमिटीद्वारा सदरमुकाम कलैयामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले प्रचण्डले पटक पटक मधेसलाई बाचा गर्दै पटक पटक धोका मात्र दिएको जिकिर गरे।
प्रचण्डले जनयुद्धदेखि आजको समयसम्म मधेसलाई फरक फरक आश्वासन दिएका तर कुनै पनि पूरा नगरी धोका मात्र दिएका नेता साहले बताए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसलाई झुटा आश्वासन दिनुको सट्टा विकासको एजेन्डालाई निरन्तर कायम राखेको नेता साहको भनाइ छ।
प्रचण्डले मधशेलाई आत्मनिर्णय, स्वायत्त प्रदेश र समान हिस्सेदारी जस्ता एजेन्डा दिएका भए पनि हरेक कालखण्डमा आफ्नो निजी स्वार्थमा उपयोग गर्दै कुरा फेरेर धोका दिएको नेता साहले बताए। अहिले मधेसले प्राप्त गरेको अधिकार पनि आफूहरुका कारण पाएको नेता साहको जिकिर छ।
‘जब हामी जनयुद्धमा थियौं, त्यतिबेला प्रचण्डजीले आत्मनिर्णय, स्वायत्त प्रदेश र समान हिस्सेदारीका कुरा गर्नुहुन्थ्यो। सुरुमा झापादेखि कञ्चनपुरसम्म एउटै मधेस प्रदेश बनाउने भन्नुभयो, शान्ति प्रक्रियातिर आउदा थारुवान् र मधेस गरी दुई प्रदेश बनाउने भन्नुभयो। पहिलो संविधानसभामा पाँच वटा प्रदेश, दोस्रो संविधानसभाको संविधान निर्माणसम्म आइपुग्दा उहाँले संघीय गठबन्धनलाई धोका दिएर पहिचानको मुद्दा नै बेच्नुभयो।’ नेता साहले भने, ‘प्रचण्डजीले भनेजस्तो मधेसले न त आत्म निर्णयको अधिकार पायो, न त स्वायत प्रदेश, न त समान हिस्सेदारी पायो।’
आफ्नो स्वार्थ पूर्ति गर्न प्रचण्डले मधेसलाई निरन्तर धोका मात्र दिएका उनले पटक पटक बताएका थिए। ‘तर केपीजीले सुरुदेखि अहिलेसम्म जे भन्नुभयो, त्यसमै उहाँको स्ट्यान्ड छ। उहाँले सधैं मधेसलाई विकासको मात्र बाचा गर्नुभयो, जुन पूरा हुँदै गएको छ।’ नेता साहले थपे, ‘त्यसैले म आग्रह गर्न चाहन्छु, धोका दिनेलाई हैन आफ्नो बोलीमा खडा भई उभिनेलाई साथ दिनुहोस्।’
