नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ पुस ।

आगामी तीन दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य बदलीको अवस्था नरहे पनि आज दिउँसोदेखि विहीबारसम्म मुलुकका विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान वुलेटिनअनुसार आज प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । योक्रम विहीबारसम्म नै कायम रहने महाशाखाले जनाएको छ ।
वर्षासँगै देशका विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने तथा तराईका जिल्लाहरूमा हुस्सु लागिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावले मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। यस्तै बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
काठमाडौं उपत्यकाको ताप्रकम आज केही वृद्धि भएको छ । सोमबार न्यूनतम तापक्रम तीन दशमलव नौ डिग्री सेल्सियस रहेकोमा आज आज बिहानको मापनमा पाँच दशमलव पाँच डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
