नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ पुस ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटी बैठकबाट भाग्ने केपी ओली नै भगौडा भएको बताएका छन् । प्रचण्डले आफूहरू कमेडियन सो देखाउन नबसेको बताए । प्रचण्ड माधव पक्षले आयोजना गरेको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘हामी यहाँ कमेडियन सो देखाउन र उत्तेजित बनाउन आएको होइनौँ। केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको कदमविरुद्ध हामी एकजुट भएका हौँ’ उनले भने, ‘कम्युनिस्ट आन्दोलन अझै आक्रमक खालको छ। हामीले यसलाई परिवर्तनसँग जोड्नुपर्ने समय आइसकेको छ।’
जनताको भरोसालाई लिएर समाजवादको बाटो कोर्ने तयारी गरिरहेको उनले बताए। ‘केपी ओलीसँग पार्टी एकताको प्रस्ताव लिएर गएको म नै हो। वाम गठबन्धनबाट निर्वाचनमा जाने र निर्वाचनपछि पार्टी एकता गर्ने प्रस्ताव मैले गरेको हुँ’ उनले भने, ‘मैले पार्टी एकताको प्रस्ताव लगेपछि आफू सकारात्मक भएको बताएका थिए।’
नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओलीको कुर्सी आन्दोलनले खोस्ने दाबी गरेकी छिन् । नेता शाक्यले प्रतिगमनविरुद्धको आन्दोलन निर्णायक चरणमा रहेकाले अब ओलीको कुर्सी आन्दोलनले खोस्ने बताएकी हुन् ।
‘प्रतिगमनविरुद्धको आन्दोलनका लागि काठमाडौँ केन्द्रविन्दु हो । अब आन्दोलन निर्णायक ठाउँमा पुग्न धेरै समय लाग्दैन। आन्दोलनको बलबाटै केपी ओली कुर्सीबाट झर्नैपर्छ’, उनले भनिन् ।
प्रधानमन्त्री ओली कम्युनिस्ट सिद्धान्त र आचरणलाई तिलाञ्जली दिएर तानाशाही र प्रतिगमनकारी बनेको आरोप उनले लगाइन् । ओलीले राज्य सत्ता र शक्तिको दुरुपयोग गर्दै भ्रम सिर्जना गरिरहेको भन्दै शाक्यले ओलीलाई सत्ताबाट हटाउन एकजुट हुन कार्यकर्तालाई आह्वान पनि गरिन् । प्रतिगमनविरुद्धको आन्दोलनले ओलीलाई धक्का दिने दाबी शाक्यको छ।
